arrow

इन्डोनेसियाको भूकम्प र सुनामीबाट बेपत्ता हुने अझै पाँच हजार

logo
प्रकाशित २०७५ असोज २१ आइतबार
indonesia-earthquake.jpg

पालु, इन्डोनेसिया। इन्डोनेसियाको पालुमा अघिल्लो साता आएको भूकम्प र सुनामीबाट हराइरहेका मानिसको संख्या पाँच हजारसम्म पुग्न सक्ने सरकारी अधिकारीहरुले बताएका छन्। इन्डोनेसियाको प्रकोप नियन्त्रण संस्थाका अनुसार भूकम्प र सुनामीका कारण हालसम्म मृत्यु भएका एक हजार ७६३ जनाको शव भेटिएको छ। गत सेप्टेम्बर २८ मा सुलावेशी टापुलाई लक्षित गरी ७.५ म्याग्नीच्यूडको भूकम्प जानुका साथै पालुमा सुनामीले व्यापक जनधनको क्षति गरेको थियो।

सुनामीले सबैभन्दा ठूलो क्षति गरेको पालु शहरका पेटोबो र बालारोआ इलाकामा अझै पनि हजारौं हराइरहेका छन्। यी दुई इलाकाका घरहरु पूर्णरुपमा ध्वस्त भएको प्रकोप नियन्त्रण संस्थाले जनाएको छ।

“बालारोआ र पेटोबो इलाकाका प्रमुखहरुको सूचना अनुसार त्यहाँ अझै पाँच हजार हराइरहेका छन्,” संस्थाका प्रवक्ता सुतोपो पुर्वो नुग्रोहोले संवाददाताहरुलाई बताए। “तैपनि अधिकारीहरुले यो तथ्याँक सत्य रहे नरहेको अनुसन्धान गरिरहेका छन्। पहिरो र माटोमा पुरिएका मानिसको यथार्थ संख्या पत्ता लगाउनु त्यति सहज छैन।”

नुग्रोहोले आगामी अक्टोबर ११ सम्म खोज कार्यलाई निरन्तरता दिइने बताए। त्यसपछि बेपत्ता भएका वा मृत्यु भएका नागरिकको सूचीमा राखिने अधिकारीहरुको तयारी छ।

दश दिनअघिको यस विनाशकारी विपदपछि हरेक दिन मृत्यु भएका, घाइते भएका र बेपत्ताको संख्या बढ्दै गएको छ। अधिकारीहरुले प्रारम्भमा पालु शहरमा झण्डै एक हजार मानिस पुरिएको अनुमान गरेका थिए।

पालु शहरको पेटोबो इलाका भूकम्प र सुनामीका कारण लगभग विलुप्त भएको छ। भूकम्पका कारण जमिन लेदो माटोमा रुपान्तरण भएको छ भने घरहरु सुनामीले सबै ढालेको छ। भत्किएका घरहरुमा कति मानिस च्यापिएका छन् भन्ने अझै पत्तो छैन।

बालारोआमा पनि इन्डोनेसियाली उद्धारकर्ताहरुले मृतकहरुको खोजतलास अझै जारी राखेका छन्। यहाँ जीवित व्यक्ति भेटिने सम्भावना कमै भएपछि सरकारले मानिसको खोजी गर्नुको साटो सिंगै बस्तीलाई “चिहान” का रुपमा घोषणा गर्ने तयारी गरेको छ।

“आज दश दिन भयो। अझै कोही जीवित भेटिनु भनेको चमत्कार मात्र हो,” इन्डोनेसियाका खोज तथा उद्धार संस्थाका प्रमुख मुहम्मद स्याउजीले बताए।

अधिकारीहरुलाई अहिले बाँचेका व्यक्तिसम्म राहत पुर्‍याउन नै धौधौ परेको छ। हाल ८२ हजारभन्दा बढी सैनिक तथा प्रहरीका साथै स्वयंसेवीहरुले उद्धार र राहतका कार्यहरु गरिरहेका छन्। इन्डोनेसियाली सैनिक हेलिकप्टरले दुर्गम क्षेत्रहरुसम्म खाद्यान्न र अन्य आपतकालीन सामग्री लैजाँदै छन्।

“स्थानीयबासी ठूलो समस्यामा छन् किनभने सडक अबरुद्ध भएको छ र यहाँ हवाई सेवामात्र उपलब्ध हुन सक्दछ,” उपसेनानी रेइनाल्डो आप्रीले बताए।

अस्ट्रेलिया र संयुक्तराज्य अमेरिकाबाट हर्कुलस हवाईजहाज मार्फत राहत यहाँ आइरहेको छ। सेभ द चिल्ड्रेन र अन्य निकायहरुबाट दक्षिण अफ्रिकी चिकित्सा टोली यहाँ आइपुगेको छ।

इन्डोनेसियाली रेडक्रसले गोदामघर निर्माण गर्नुका साथै अत्यावश्यक सामग्री वितरण गरिरहेको छ। तर यहाँ राहतकर्मीले ठूलो समस्या झेल्नु परिरहेको छ किनभने पालु र अन्यत्र ठूलो क्षेत्रमा मानिसहरु छरिएर बसेका छन्।

“म टेन्ट चाहिएको कुरा लिएर यहाँ आएको हुँ, किनभने हाम्रो गाउँका ९५ प्रतिशत घरहरु क्षतिग्रस्त भएका छन्,” लिड्डुबाट आएका सिमसम मुजुले बताए। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ