भयावह वातावरणीय प्रभाव रोक्न १० वर्ष प्रदूषण नियन्त्रण आवश्यक : यूएन रिपोर्ट
प्रकाशित २०७५ असोज २२ सोमबार
208
Shares
काठमाडौं । विश्वको तापक्रम सन् २०३० देखि २०५२ को बीचमा वार्षिकरुपमा १.५ डिग्रीले वृद्धि हुनसक्ने बताइएको छ । अहिलेको गतिमा तापक्रम अघि बढिरहेको खण्डमा सो अवधिमा यस किसिमको नतिजा हासिल हुनसक्ने संयुक्त राष्ट्रसंघको विवरणले देखाएको हो ।
तापक्रमलाई नियन्त्रणमा राख्न विश्वव्यापीरुपमा उल्लेख्य वातवारणीय कदम चालिनुपर्ने विवरणमा उल्लेख गरिएको छ । सोमबार सार्वजनिक गरिएको विवरणमा सन् २०१५ मा भएको जलवायु सम्झौताअनुसारको काम हुन नसकेको उल्लेख गरिएको छ ।
सन् २०१५ मा भएको सो सम्झौताअनुसार विश्वको तापक्रमको वृद्धिदर २ प्रतिशतभन्दा कम विन्दुमा राख्ने सम्झौता भएको थियो । यसलाई १.५ डिग्रीमा कायम राख्ने लक्ष्य लिइएको छ । यो उपलब्धि हासिल गर्नका लागि यूएनले केही वैज्ञानिक मापदण्डहरु पनि तयार गरेको छ ।
यूएनले सार्वजनिक गरेको विवरणमा अहिले लिइएको लक्ष्यअनुसार १.५ डिग्री सेल्सियस भित्र तापक्रमको वृद्धिदरलाई सीमित गरिएको खण्डमा पनि वातावरणीय जोखिम भने कम नहुने उल्लेख गरिएको छ ।
यूएनले सार्वजनिक गरेको विवरणमा उद्योग, भवन निर्माण, यातायात र सहरलगायतका स्थानहरुमा व्यापक मात्रामा जमिन तथा ऊर्जाको प्रयोगमा सुधार गर्नुपर्ने बताइएको छ ।
यूएनको विवरणमा सन् २०५० सम्म एक दशमलव ५ प्रतिशतभन्दा कम तापक्रमको वृद्धिका लागि नवीकरणीय ऊर्जाको प्रयोग पनि ७० देखि ८५ प्रतिशतमा पुर्याउनुपर्ने उल्लेख गरिएको छ । अहिले जुन २५ प्रतिशतको हाराहारीमा रहेको छ ।
विवरणमा यदि औसत तापक्रमको वृद्धिदर १.५ डिग्रीभन्दा बढी रहेको खण्डमा सन् २१०० सम्मको अवधिमा वातावरणमा देखिएको अत्यधिक प्रदूषण नियन्त्रणको लागि वायु शुद्धीकरण गर्ने अर्को प्रविधि आवश्यक रहने विवरणमा बताइएको छ । (एजेन्सी)