ग्राहक फकाउन लागुऔषध उपलब्ध गराउदै वीरगन्जका क्यासिनो
बिजय चौहान
प्रकाशित २०७५ असोज २३ मंगलबार
421
Shares
वीरगन्ज । वीरगन्जमा संचालन गरेका अनुमति प्राप्त जुवाघर( क्यासिनो)हरुले जुवाडेलाई फकाउन प्रतिबन्धित लागुऔषध उपलब्ध गराइरहेको खुलासा भएको छ । वीरगन्जको आर्दशनगरमा रहेको होटल सुरज भित्र संचालित रक इन्टरनेशनल प्रा.लि( फर्चुन सिटी) नामक जुवाघरबाट मंगलबार प्रहरीले प्रतिबन्धित लागुऔषध चरेशसहित एक भारतीय नागकिरलाई पक्राउ गरेपछि रहस्य बाहिर आएको हो ।
जुवा खेल्न आएका भारत बिहार पूर्वचम्पारण सिक्टा निवासी राजेन्द्र ठाकुरलाई प्रतिबन्धित चरेशसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक सत्यनारायण थापाले जानकारी दिए । उनले क्यासिनोमा जुवा खेल्न आएका ठाकुरसंग चरेश रहेको पूर्व सुचनाको आधारमा कारबाही गर्दा उनको झोलाबाट १५ ग्राम चरेश बरामद भएपछि आवश्यक अनुसन्धनका लागि नियन्त्रणमा लिएको बताए ।
क्यासिनो संचालकले ग्राहक फकाउन प्रतिबन्धित लागुऔषध उपलब्ध गराउने गरेको सुचना प्राप्त भएपनि घटना स्थलबाट त्यस्तो केही बरामद नभएको नायब उपरिक्षक थापाको भनाई रहेको छ ।
सरकारले विक्री वितरण तथा सेवन समेतमा प्रतिबन्ध लगाएको गाँजा, चरेश, खैरो हिरोइन लगायतका लागुऔषध जुवाघर संचालकले जुवाडेलाई उपलब्ध गराउने गरेको श्रोतले बताएको छ । जुवाघरहरुबीच ग्राहक तान्ने प्रतिस्पर्धा ठुलो भएकाले क्यासिनो संचालकहरुले ग्राहकलाई आफनो जुवा घरतर्फ आक्रशित गर्न लागुऔषध उपलब्ध गराउने गरेको श्रोतको दावी रहेको छ ।
यसैबीच भारतबाट अबैध रुपमा नेपाल भित्र्याउन लागिएको प्रतिबन्धित लागुऔषध कोरेक्ससहित एक युवकलाई प्रहरीले मंगलबार नै पक्राउ गरेको छ । वीरगन्जको सिमाक्षेत्रबाट प्रहरीले एक सय एम.एलको ५० थान बोतल सहित वीरगन्ज महानगरपालिका वडा नं. १५ निवासी मुरारी झालाई नियन्त्रणमा लिएको हो ।
रक्सौलबाट खरिद गरिएको कोरेक्स बोकी वीरगन्ज तर्फ आउने क्रममा झालाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक थापाले जानकारी दिए । पक्राउ परेका झा र ठाकुरलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखि आवस्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।