चीनमाथि नेपालको शानदार जित, नेपाल शीर्षमै

प्रकाशित मिति : २०७५ असोज २४ बुधबार
तस्वीर –फाइल

काठमाडौं । मलेसियामा भइरहेको विश्वकप टी–२० छनौट क्रिकेटमा नेपालले छिमेकी चीनमाथि शानदार जित प्राप्त गरेको छ । 

बुधबार बिहान क्वालालम्पुरमा भएको खेलमा २७ रनको अन्त्यन्त न्यून लक्ष्य नेपालले १.५ ओभरमा विना कुनै विकेटको नोक्सानीमा जितेको हो । 

खेलमा पहिले ब्याटिङ गरेको चीनले १३ ओभर खेलेर अलआउट हुँदै २६ रन मात्र बनाउन सक्यो । ८ खेलाडीले रनको खाता समेत खोल्न नसकेको चीनलाई ओपनर एच यानले ११ रन दिलाए । 

नेपालका लागि सन्दीप लामिछाने, ललित राजबंशी र बसन्त रेग्मीले ३–३ विकेट लिए । 

सन्दीपले ४ ओभरमा १ मेडन राख्दै ४ रन खर्चेका थिए । बसन्तले ४ ओभरमा १ मेडन राख्दै ५ रन खर्चेका थिए भने ललितले ३ ओभरमा १ मेडन राख्दै १२ रन खर्चेका थिए । प्लेयर अफ द म्याच सन्दीपले अहिलेसम्म खेलेका ५ खेलमा २० विकेट लिइसकेका छन् । 

जवाफमा नेपालका लागि विनोद भण्डारीले ८ बलमा नटआउट रहँदै १ छक्का र ३ चौकाको मद्धतले २४ रन बनाए । प्रदीप सिंह ऐरीले ३ बलमा ४ रन जोडे । 

यो जितसंगै नेपाल १० अंकसहित शीर्ष स्थानमा छ । सिंगापुर दोस्रो स्थानमा छ । शुक्रबार नेपाल र सिंगापुरबीच भिडन्त हुनेछ । 

नेपाल र सिंगापुर विश्वकप छनौटको दोस्रो चरणमा पुगिसकेका छन् । 
 

नयाँ