विकिलिक्सका संस्थापक जुलियन असान्जको सञ्चार आंशिक खुला
प्रकाशित २०७५ असोज २९ सोमबार
412
Shares
लन्डन। इक्वेडर सरकारले लन्डनस्थित आफ्नो मुलुकको राजदूतावासमा रहेका जुलियन असान्जको सञ्चारलाई आंशिक रुपमा खुला गर्न लागेको विकिलिक्सले जनाएको छ। विकिलिक्सका संस्थापक असान्ज सन् २०१२ देखि इक्वेडरको राजदूतावासमा शरण लिइरहेका छन्। गत मार्चदेखि इक्वेडर सरकारले असान्जमाथि बाह्य सम्पर्कका लागि इन्टरनेट वा मोबाइल फोनको प्रयोगमा प्रतिबन्ध लगाएको थियो।
“इक्वेडरले विकिलिक्सका संस्थापक जुलियन असान्जमाथि बाह्य सञ्चारमा गरेको प्रतिबन्ध राष्ट्रसङ्घका दुईजना वरिष्ट अधिकारी र इक्वेडरका राष्ट्रपति लेनिन मोरेनोबीच शुक्रबार भएको भेटवार्तापछि हटाउने निर्णय भएको हो,” विकिलिक्सले प्रकाशित गरेको वक्तव्यमा उल्लेख छ।
विकिलिक्सका प्रधान सम्पादक क्रिस्टिन ह्राफसोनले उक्त कदम सकारात्मक रहेको बताए। उनले अझै पनि असान्जको अभिव्यक्ति स्वतन्त्रतालाई सीमित गरिएकामा गम्भीर चासो व्यक्त गरे।
इक्वेडरले विद्युतीय इमेलहरु प्राप्त गर्नबाट रोक्न ज्यामर उपकरण राजदूतावासमा जडान गरेको थियो भने भेटघाटका लागि आउने व्यक्तिलाई भेट्न कडाई गरेको थियो।
सन् २०१२ मा एकजना बेलायती न्यायाधीशले असान्जलाई स्वीडेन सुपुर्दगी गर्न आदेश दिएलगत्तै उनलाई इक्वेडरको राजदूतावासले शरण दिएको थियो। उनीमाथि स्वीडेनमा यौन शोषणको आरोप लागेको छ।
असान्जले यौन शोषणको आरोप राजनीतिक प्रेरित रहेको दाबी गर्दै आएका छन्। सन् २०१० मा गोप्य अमेरिकी सैनिक दस्तावेज र कूटनीतिक सञ्चारको प्रकाशन गरेका कारण असान्जलाई स्वीडेनले संयुक्तराज्य अमेरिका सुपुर्दगी गर्ने असान्जको ठम्याइ छ।
स्वीडेनको गत वर्ष आफ्नो अनुसन्धान स्थगित गरेको थियो, तर बेलायती अधिकारीहरुले असान्जलाई गिरफ्तार गर्ने जनाएका छन्। एएफपी