माथिल्लो तामाकोशीको रु एक अर्ब ५८ करोडको आइपिओ आउँदै
प्रकाशित २०७५ असोज २९ सोमबार
129
Shares
काठमाडौं। राष्ट्रिय गौरव आयोजनाको रुपमा रहेका माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले सर्वसाधारणलाई साधारण शेयर (आइपिओ) आगामी कात्तिक १५ गतेदेखि बिक्री गर्ने भएको छ। आयोजनाले आज एक सूचनामार्फत रु एक अर्ब ५८ करोड बराबरको एक करोड ५८ लाख ८५ हजार कित्ता शेयर बिक्री गर्न लागेको जनाएको हो। आयोजनाले यसअघि कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई साधारण शेयर बिक्री गरिसकेको छ।
यस्तै गत साउन १६ गतेदेखि भदौ २१ गतेसम्म आयोजना प्रभावित दोलखावासीलाई समेत साधारण शेयर बिक्री गरिसकेको छ। आयोजनाले दोलखावासीलाई रु एक अर्ब पाँच करोड बराबरको साधारण शेयर बिक्री गरेको थियो। तेस्रो चरणमा आम सर्वसाधारणलाई शेयर बिक्री गर्न लागेको आयोजनाले जनाएको छ।
दोलखाको लामाबगरमा निर्माणाधिन माथिल्लो तामाकोशी ४ सय ५६ मेगावाट क्षमताको आयोजना हो। स्वदेशी लगानीमा निर्माण भइरहेको आयोजना आगामी पुस मसान्तमा सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि निर्माण व्यवसायीले तोकिएअनुसार काम नगर्दा केही समय पर धकेलिने अवस्था सिर्जना भएको हो।
आयोजनाले सर्वसाधारणका लागि न्यूनतम ५० कित्ता र अधिकतम एक हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ। धितोपत्र निष्कासन छिटोमा कात्तिक १९ गतेसम्म बन्द हुनेछ भने बढीमा मङ्सिर १४ गतेसम्म हुनेछ।
आयोजनाको हालसम्म ९७ प्रतिशत भौतिक प्रगति भएको छ। शेयर बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल लिमिटेड छन्। निर्माण सामग्रीको ढुवानीमा देखिएको समस्याका कारण आयोजनाको निर्माण प्रक्रियामा केही शिथिलता आएपनि दशैँलगत्तै निर्माण कार्यले तीव्रता पाउने विश्वास लिइएको छ। रासस