arrow

नारीलाई राजदेवी मन्दिरमा प्रवेश निषेध !

logo
सुरेन्द्र सिंह,
प्रकाशित २०७५ असोज ३० मंगलबार
ram-temple.jpg

जनकपुरधाम। हिन्दू धर्ममा नारीलाइ शक्ती स्वरुपको रुपमा पुजा गरिन्छ। देवीको पुजा हुने मठमन्दिरहरुमा दशैँ भरी महिलाहरुको प्रवेश निषेध हुन्छ। दशैँमा देवीको पुजा गोप्य हुने भएकाले महिलाको प्रवेशलाई निषेध गरिएको बताइन्छ। महिलाहरुले निषेध तोड्ने प्रयास गरेपनि सफल हुन सकेको छैन्।

बडा दशैँमा शक्ती पिठहरुमा श्रद्धालुहरुको भीड हुन्छ। कतिपय देवी मन्दिरहरुमा महिला पुरुषहरुसँगसँगै पुजा गर्छन्। तर कतिपय मन्दिरहरुमा दशैमा महिलाहरुको प्रवेश निषेध गरिएको छ। जानकी मन्दिरमा दशैभरी महिलालाई प्रवेश गर्न दिदैन्। मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णव महिलाहरुको प्रवेश रोकिनुको कुनै कारण भएको ज्ञात नभएपनि परम्परागत रुपमा नै प्रवेश निषेध गरिएको बताउँछन्।

‘दशैंमा महिलाहरुको प्रवेशबारे ठोस कारण र धर्मग्रन्थहरुमा उल्लेख भएको देखिदैन्’उनले भने, दशैंमा महिलाहरुको प्रवेशलाई अधिकांश मन्दिरहरुमा निषेध गरिएको हुन्छ।

अत्यन्त चर्चित राजदेवी मन्दिरमा पनि महिलाहरुको प्रवेश निषेध छ। घटस्थापना हुनु केहि बेर पूर्व सम्म महिलाहरु मन्दिर भित्र जान पाएपनि घटस्थापना भईसकेपछि झ्यालमा नै पुजा गर्छन् ।एकै राती दशौं हजार बलि प्रदान हुने राजदेवी मन्दिरमा गोप्य पुजा हुने भएकाले महिलाहरुको प्रवेश निषेध गरिएको बताईन्छ।

राममन्दिरका महन्थ राम गिरीले राजदेवी मन्दिरमा दशैँभरी गुप्त पुजा हुने भएकाले महिलाहरुको प्रवेश वर्जित गरिएको बताए।‘महिलाहरुको प्रवेशलाई हाल निषेध गरिएको होईन्’उनले भने, यो परम्परागत रुपमा चल्दै आएकोले महिलाहरु स्वयंपनि प्रवेश गर्न चाहदैनन्।

तर उनीहरुको तर्कसित महिलाहरु सहमत देखिदैन्। अधिकारकर्मी कानून व्यवसायी रेखा झा मन्दिरमा प्रवेश रोक्नु महिलामाथिको चरम विभेद भएको बताउँछन्।‘मन्दिरमा महिलाहरुको प्रवेशलाई रोक्नु धार्मिक हिंसा हो’उनी भन्छिन्, कानून रुपमा महिलामाथिको सबै प्रकारको हिंसा दण्डनिय अपराध हो।

जनकपुरधाम उप–महानगरपालिकाकी उपमेयर रीता मिश्रपनि परम्पराको नाममा महिलाहरुको प्रवेशलाइ रोक्न नहुने बताउँछन्।‘भूतप्रेत, धामी झाँक्री, बोक्सीको अन्धविश्वास अझै विद्यमान छ’उनी भन्छिन्,–महिलाहरुले राजनीतिक र समाजिक क्षेत्रमा अधिकार पाएपनि धार्मिक क्षेत्रमा अझै कठोर संघर्ष गर्नुपर्ने अवस्था छ।

वर्ष भरी नै महिलाले पुजा गर्ने देवी मन्दिरहरुमा घटस्थापनादेखि महाष्टमी सम्म महिलाहरुको प्रवेश निषेध गरिएको हुन्छ। महाष्टमीपछि फेरी महिलाहरुको प्रवेश खुल्ला हुने गरेको छ। कतिपयले महाष्टमी सम्म देवी मन्दिरहरुमा महिलाहरुको प्रवेशले अनिष्ट निम्तिन सक्ने कुतर्कपनि गर्छन्।

समाजिक क्षेत्रमा कार्यरत मुनी दासले पुरुषहरुको हैकमवादी प्रवृती अझै विद्यमान रहेको कारण नै देवी मन्दिरहरुमा महिलाको प्रवेश रोकिएको बताउछिन्।‘नारी स्वरुपकै पूजा हुने मन्दिरमा नारीकै प्रवेश निषेध हुनुको कुनै तर्क र कारण छैन्’उनी भन्छिन्, महिलाहरुमाथि हुने सबै प्रकारको विभेद अन्त्य गर्ने कानुन बनेपनि मठमन्दिरहरुमा त्यो अझै विद्यमान छ। राजनीतिक र समाजिक क्षेत्रमा अगाडी आउन घुम्टो हटाएका महिलाहरु धार्मिक अन्धविश्वास र थिचोमिचो हटाउन सशक्त रुपमा अगाडी बढनु पर्ने उनी बताउछिन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ