पत्रकार खसोग्गीको बारेमा छलफल गर्न माइक पोम्पेओ साउदी अरेबिया भ्रमणमा
एपी,
प्रकाशित २०७५ असोज ३० मंगलबार
862
Shares
इस्तानबुल। अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ साउदी लेखक एवं पत्रकार जमाल खसोग्गी बेपत्ता भएको बारेमा छलफल गर्न साउदी अरेबिया पुगेका छन्। उनले साउदी राजा सल्मानसँग भेटवार्ता गरेका छन्।
टर्कीको स्तानबुलस्थित साउदी राजदूतावासमा दुई साताअघि प्रवेश गरेका लेखक जमाल खसोग्गी त्यसयता बेपत्ता छन्। विवाद बढ्दै गएपछि टर्कीका अधिकारीहरुले दूतावासभित्र खोजतलास गरेलगत्तै विदेशमन्त्री पोम्पेओ साउदी अरेबिया पुगेका हुन्। प्रहरीले दोस्रो खोजी कार्य पनि गर्ने टर्कीको विदेश मन्त्रालयले जनाएको छ।
टर्कीका अधिकारीहरुले खसोग्गीलाई दूतावासभित्रै हत्या गरिएको र त्यहीँभित्र गाडिएको आशंका गरेका छन्। साउदी अरेबियाका अधिकारीहरुले भने टर्कीको आरोप आधारहीन रहेको बताउँदै आएका छन्। तर अमेरिकी सञ्चार माध्यमहरुले साउदी अरेबियाले दूतावासभित्रै खसोग्गीको हत्या भएको स्वीकार गरेको जनाएका छन्।
पोम्पेओ रियाद पुग्दा साउदी अरेबियाका विदेशमन्त्री अब्देल अल–जुबेरले स्वागत गरेका थिए। उनले तत्काल कुनै प्रतिक्रिया दिएनन्। त्यसलगत्तै राजदरबार पुगका पोम्पेओलाई साउदी राजा सल्मानले स्वागत गरेका थिए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खसोग्गी बेपत्ता भएको बारे छलफल गर्न विदेशमन्त्री पोम्पेओलाई साउदी अरेबिया पठाएका थिए।
राजा सल्मानसँग भएको कुराकानीलाई उद्धृत गर्दै राष्ट्रपति ट्रम्पले “दुष्ट हत्यारा”ले खसोग्गीको हत्या गरेको हुनसक्ने जानकारी दिए। ट्रम्पको उक्त जानकारी सार्वजनिक हुनासाथ विश्वभरबाट साउदी अरेबियाको आलोचना भइरहेको छ। ट्रम्पले राजा सल्मानले खसोग्गीको हत्याबारे आफूलाई बिल्कुलै थाहा नभएको प्रतिक्रिया दिएको बताए।