arrow

भन्सार छल्न खोज्ने ट्रक सामानसहित नियन्त्रणमा

logo
प्रकाशित २०७५ असोज ३१ बुधबार
bhairahawa-bhansar.jpg

बुटवल। सशस्त्र प्रहरी बल नेपाल, राजश्व भन्सार सुरक्षा नम्बर ३८ गुल्म रुपन्देहीले आज भन्सार छलेर नेपाल भित्र्याएको अवैध सामानसहित ढुवानीमा प्रयोग भएको ट्रकलाई समेत नियन्त्रणमा लिएको छ । 

पराल बोकेको ना२ख ६१७५ नम्बरको मालबाहक ट्रकमा भारतीय सीमानाका झुलेनीपुल क्षेत्रबाट चितवन लैजाँदै गर्दा उक्त सामान नियन्त्रणमा आएकोे नम्बर ३८ गुल्म रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक गोविन्दबहादुर खातीले बताए । 

भारतीय बजारबाट भन्सार छली अवैधरुपमा नेपालतर्फ ल्याउँदै गरेको १४४ पिस कुर्ता सुरुवाल, ९० पिस सारी, २९३ मिटर पर्दाको कपडा नवलपरासीको बर्दघाट नगरपालिका–४ त्रिवेणी चोकबाट ट्रकसहित नियन्त्रणमा लिएको हो । 

पछिल्लो समय नवलपरासी क्षेत्रबाट सुरक्षा निकायकै मिलोमतोमा तस्करी मौलाउँदै गरेको सूचना पाएपछि नम्बर ३८ गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक खातीको नेतृत्वमा खटेको टोलीले ट्रकसहित अवैध कपडा नियन्त्रणमा लिएको हो । 

उक्त सामान ढुवानीमा प्रयोग गरेको ट्रकसहित भन्सार मूल्य रु १५ लाख ३४ हजार ३०० मूल्य बराबरको सामान तथा सवारीसाधन बरामद गरी आजै भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको छ । भन्सार चोरी तस्करी नियन्त्रणका लागि विशेष अभियान चलाएको नम्बर ३८ गुल्म रुपन्देहीले पहिल्लो आर्थिक वर्ष २०७५-०७६ को तीन महीना साउनदेखि असोजसम्म रु ९१ लाख ५८ हजार ८३६ मूल्य बराबरको अवैध सामान नियन्त्रण गरी भन्सार चलान गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ