भक्तपुर अस्पतालमा मुटुको बिरामीलाई पेटको औषधि दिंदा मृत्यु
सामान्य ईसिजी पनि नगरी गंगालाल रिफर
प्रकाशित २०७५ कार्तिक ६ मंगलबार
533
Shares
भक्तपुर। चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु हुने क्रम रोकिएको छैन। दशैंको महाअष्टमीमा छाती दुखेर भक्तपुर अस्पताल पुगेका ४४ बर्षीय रामकृष्ण गेरीको २ दिन पछि गंगालाल अस्पतालमामृत्यु भएको हो।
दशैं बिदामा ओपीडी सेवा बन्द हुने भएकोले आकस्मिक कक्षमा रहेका चिकित्सकले देब्रे छाती ग्यासट्राईटिसका कारणले भन्दै औषधी दिएर घर फर्काएका थिए। दोस्रो दिन पनि गिरी छाती दुख्न कम भएन भन्दै उक्त अस्पताल पुगे पछि सामान्य ईसिजी पनि नगरी गंगालाल रिफर गरेको थियो।
रिफर पछि गंगालाल पुर्याउँदा गिरीको निधन भएको परिवारले जनाएको छ। गंगालालले पनि गिरीको मृत्यु हृदयघातका कारण भएको पुष्टी गरेको छ।
पहिलो दिन उपचारकालागि आउँदा ईसिजी गरेको भए संभवत: बिरामीको ज्यान जोगिन सक्ने वा त्यही दिन गंगालाल जान सुझाव दिएको भए पनि बिरामीको ज्यान बच्न सकने गुनासो स्थानीय बासिन्दाले गरेका छन्।
यसबारेमा अस्पतालका सुपरिटेण्डेन्ट डा सुधार देवकोटासँग सम्पर्क गर्न खोज्दा उनी बिदामा भएको अस्पतालका प्रशासन प्रमुख विश्व न्यौपानेले जानकारी दिए । घटना गम्भीर र दुःखद भएको बताउँदै न्यौपनेले भने, “मेडिकल सुपरिटेण्डेन्ट बिदामा हुनुहन्छ, उहाँ आएपछि घटनाको दिनको चिकित्सकले बिरामी हेरेको हो, अस्पतालमा भएको इसिजी सेवा किन सञ्चालन नगरेको हो, छानबिन गरी विभागीय कारवाही अगाडि बढाउँछौँ ।”
सरकारको वार्षिक करोडौँको बजेट आउने भक्तपुर अस्पताल र सरकारी तलब खाएर बस्ने यहाँका केही चिकित्सकको यस्तो लापर्वाहीको घटना यो पहिलो भने होइन । सरकारी अस्पतालका रुपमा रहेको भक्तपुर अस्पतालले विगतदेखि नै प्रसूतिदेखि विभिन्न रोगको उपचारमा लापर्वाही गर्दै आएपछि पछिल्लो समयमा बिरामीको चापसमेत घटेको छ ।
आइसियू बिना नै विभिन्न रोगको शल्यक्रिया गरेर अर्को लापर्वाही गर्दै आएको स्थानीयवासी बताउँछ । आँखाअगाडि नै भक्तपुर अस्पताल रहे पनि यहाँका बासिन्दाले भने उपचार गराउन बिरामीलाई काठमाडौँका अस्पताल लैजाने गरेको दूधपाटीका स्थानीयवासी रामप्रसाद श्रेष्ठ बताउँछन ।
भक्तपुरका बासिन्दालाई भक्तपुर अस्पतालको उपचार सेवामा विश्वास नै हट्दै गए पनि बिरामी काठमाडौँ लैजान गरेको बताउँछन । उनी भन्छन, “भक्तपुर अस्पताल कहिल्यै नसुध्रिने भो, यहाँको लापर्वाही हेर्ने हो भने अनगिन्ती छन् ।” ज्यान बचाउने अपेक्षा लिएर अस्पताल आउने बिरामीलाई बचाउन भक्तपुर अस्पताल गम्भीर नहुने गरेको स्थानीयवासीको गुनासो छ ।