बिबिएलमा आबद्ध सन्दिपलाई वकार युनिसले भने 'पुर्ण खेलाडी'
'अद्भूत क्षमता, खेलको मूल्यांकन गर्ने तरिका र फरक शैलीको खेल'
प्रकाशित २०७५ कार्तिक ७ बुधबार
475
Shares
काठमाडौं । नेपालका स्टार क्रिकेटर सन्दिप लामिछानेले अष्ट्रेलियाको ब्यवसायीक टि-२० क्रिकेट प्रतियोगिता बिग बास लिग (बिबिएल)मा मेलवर्न स्टार्ससँग अनुबन्धन गरेका छन्। सन् २०११मा शुरु भएको बिबिएल बिश्व क्रिकेटमा ब्यवसायीक टि-२० क्रिकेट लिगमा अब्बल दर्जाको मानिन्छ ।
भारतीय ब्यवसायीक क्रिकेट लिग (आईपीएल)मा दिल्ली डेयर डेविल्सबाट खेलेका सन्दिपले आफ्नो क्षमता देखाईसकेका थिए। उक्त क्षमता पहिचान पछि बिश्वका प्रमुख ब्यवसायीक टि-२० क्रिकेट प्रतियोगीतामा सहभागीता जनाएर सफलता चाखिसकेका सन्दिपलाई मेलबर्नले आफ्नो टोलीमा समाहित गर्दा टोली बलियो हुने बिश्वास गरेको छ।
लेगस्पिनर सन्दीप लामिछाने मेलवर्न स्टार्ससँग आगामी सिर्जनको बिग बासका लागि जोडिएका छन् । उनी क्लबको स्क्वाडमा डिसेम्बर १० मा जोडिनेछन् । बीचमा उनी बंगलादेश प्रिमियर लिग खेल्नका जनवरी ५ मा जानेछन् र उक्त लिग सकेर बाँकी खेलका लागि अष्ट्रेलिया फर्किनेछन् ।
सन् २०१५मा चितवनको क्याम्पा चौरबाट तत्कालिन नेपाली क्रिकेटका प्रशिक्षक पुबुदु दशानायकेले सिधै राष्ट्रीय टोलीको क्याम्पमा ल्याएका थिए। त्यसपछि सन्दिपले अनेक सफलता देखिसकेका छन्। उनको सफलतासँगै नेपाली क्रिकेटले पनि सफलता पाईरहेको छ।
गत जनवरीमा उनले आईपीएल खेल्दै यो प्रतियोगिता खेल्ने पहिलो नेपाली खेलाडी बन्न सफल भएका थिए । त्यसपछि उनले विश्वका विभिन्न टी–२० प्रतियोगिताहरुमा सहभागिता जनाइसकेका छन् । उनले सीपीएल, ग्लोबल टी–२० क्यानडा, बीपीएल हुँदै अहिले बीबीएल खेल्न लागेका हुन् ।
अष्ट्रेलियाको मध्य स्तरको क्रिकेटमा भने उनले सहभागिता जनाइसकेका छन् । उनले सन् २०१६ मा माइकल क्लार्कको निगरानीमा अष्ट्रेलियामा खेल्ने मौका पाएका थिए ।
वकार युनिसको नजरमा सन्दिप
पाकिस्तानी पूर्वबलर वाकार युनिसले लामिछानेको सुधारलाई नजिकैबाट नियालिरहेका छन् । उनी अहिले सिल्हेट सिक्सरको प्रशिक्षक रहेका छन् र यो टिमले भर्खरै लामिछानेलाई आगामी सिजनको बीपीएलका लागि अनुबन्धित गरेको छ ।
“म सधैं युवा र राम्रो लेग स्पिनर्सलाई महत्वपूर्ण विकेट लिनसक्ने खेलाडीको रुपमा लिने गर्छु”, वाकरले भने, “जब मैले २०१७ मा सन्दीपलाई देखेँ, त्यतिबेला नै यी खेलाडीलाई एउटा मौका दिनुपर्छ भन्ने लाग्यो ।” उनले क्रिकईन्फोलाई भनेका छन्।
सन् २०१७ को बीपीएलका लागि सिल्हेट सिक्सरले सन्दीपलाई बोलाएको थियो तर नेपाली टोलीको क्रिकेट परेको कारण उनी जान पाएका थिएनन् । सन्दीप अरुभन्दा विशेष र फरक रहेको वाकर बताउँछन् । उनीमा अद्भूत क्षमता, खेलको मूल्यांकन गर्ने तरिका र फरक शैलीको खेल प्रस्तुत गर्ने इच्छा रहेको उनको बुझाइ छ । उनी एक पुर्ण खेलाडी हुन्।
बिबिएलमा कुल आठ टोली सहभागी हुनेछन्। एडिलेट स्ट्राईकर्स, ब्रिसबेन हिट, होबर्ट हरिकेन, मेलबोर्न रेनेगेड्स, मेलबोर्न स्टार्स, पर्थ स्कोर्चर्स, सिड्नी सिक्सर्स, सिड्नी थण्डर रहेका छन्।
अफगानिस्तानका रासिद खानले पनि सन् २०१७ मा बीबीएल खेलेका थिए र अफगानिस्तानबाट यसपटक मुजिब उर रहमानले पनि यो प्रतियोगिता खेल्दैछन् ।
सन्दीप लामिछाने सन् २०१६ मा भएको यू–१९ विश्वकपका छ खेलमा १४ विकेट लिँदै सबैको आँखामा पर्न सफल भएका थिए । यस वर्ष लामिछानेको आईसीसी विश्वकप छनोटमा १३ विकेट लिएका थिए ।