भौतिक मन्त्रालयको पूँजीगत खर्चको ८ दशमलव ३ प्रतिशत खर्च
रासस,
प्रकाशित २०७५ कार्तिक ७ बुधबार
206
Shares
काठमाडौं। चालू आर्थिक वर्षको तीन महीनामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पूँजीगत खर्चको आठ दशमलव तीन प्रतिशत खर्च गरेको छ।
मन्त्रालयका लागि छुट्याइएको रु एक खर्ब एक अर्ब बजेटमध्ये आठ प्रतिशतभन्दा माथि नै खर्च भइसकेको प्रवक्ता राजेन्द्रराज शर्माले राससलाई जानकारी दिए। मन्त्रालयअन्तर्गत पूर्वाधार निर्माणसँग सम्बन्धित राष्ट्रिय गौरवका पाँच आयोजना छन्।
हुलाकी राजमार्ग, मध्यपहाडी (पुष्पलाल) लोकमार्ग, पूर्व–पश्चिम विद्युतीय रेलमार्ग, उत्तर–दक्षिण कोरिडोर र द्रुतमार्ग (फास्ट ट्र्याक) आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा सूचीकृत गरिएको छ। आर्थिक वर्षको शुरुवाती चरणमा टेण्डरको प्रक्रियामा जान समय लाग्ने भएकाले काम नै नभए जस्तो देखिने गरेको उनले बताए।
सबै प्रक्रिया पूरा गरी तीन महीनामा आठ प्रतिशतभन्दा बढी खर्च हुनुलाई नराम्रो भन्न नसकिने प्रवक्ता शर्माको भनाइ छ। समयमै काम गर्न विभाग एवं आयोजनाहरुलाई निर्देशन दिइसकेको मन्त्रालयले जनाएको छ।