arrow

नेपाली क्रिकेटको कालो वादल हट्दै, सर्वोच्चमा रहेको मुद्दा फिर्ता लिने निर्णय

logo
प्रकाशित २०७५ कार्तिक १० शनिबार
ICC-and-CAN.jpeg.jpeg.jpeg

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको निर्वाचित भनिएको कमिटिले सर्वोच्च अदालतमा दर्ता गरेको मुद्दा फिर्ता लिने औपचारिक निर्णय गरेको छ । क्रिकेटको विवाद समाधान गर्न अदालतको मुद्दा फिर्ता लिन अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले गरेको आग्रह अनुसार निर्वाचित कमिटीले मुद्दा फिर्ता लिने निर्णय गरेको हो ।

मुद्दा फिर्ताको औपचारिक निर्णय गर्न कमिटिले शनिबार क्यानको बोर्ड बैठक समेत बोलाएको थियो । त्यही बैठकबाट मुद्दा फिर्ताको निर्णय भएको हो । निर्वाचित क्यानका महासचिव अशोकनाथ प्याकुर्‍यालले बैठकपछि भने, ‘अदालतमा विचाराधिन मुद्दा फिर्ता लिने प्रक्रिया हामीले अघि बढाएका छौँ । बैठकले सैद्धान्तिक रुपमा मुद्दा फिर्ता लिने निर्णय गरेको छ ।’ 

तर, निर्वाचित अध्यक्ष चतुरबहादुर चन्दले सवै पक्षसँग समन्वय गरेर निर्वाचन हुने सुनिश्चित भए मात्रै मुद्दा फिर्ता लिने बताए । उनले भने, 'पहिले क्यानकाे विधान हुबहु पारित नभएकाे भनियाे तर, अहिले हुबहु विधान पारित भएकाे ६ महिना वितिसक्दा समेत काेही तातिएनन् । त्यसैले हामीले अधिकारसम्पन्न एउटा समन्वय समिति बनाएका छाैँ ।' क्यानकाे चुनाव हुने पक्का भए  मुद्दा फिर्ता लिन्छाैँ ।

बैठकबाटै नेपाली क्रिकेटको विवाद समाधानमा पहल गर्न भन्दै पाँच सदस्यीय कमिटि समेत गठन गरेको छ । कमिटिमा अध्यक्ष चतुरबहादुर चन्द, महासचिव अशोकनाथ प्याकुर्‍याल र उपाध्यत्रय दिवाकर घले, सञ्जय राज सिंह र शैलेश चौधरी छन् ।

वैशाख ६ मा क्यानको नयाँ विधान पारित भएपनि अहिलेसम्म क्रिकेट निलम्बनको प्रक्रिया अघि नबढ्नु दुःखद् रहेको भन्दै आईसीसीको ध्यानकर्षण गराउने निर्णय समेत बैठकले गरेको छ । क्यानको निलम्बन फुकुवा गर्ने विषयमा जोड दिदै बैठकले विवाद समाधानमा सहयोगी भुमिका खेल्ने निर्णय गरेको छ ।  

क्यानको नयाँ विधान बनेपछि पनि आईसीसीले क्रिकेटको निलम्बन फुकुवाका लागि अदालतमा रहेको मुद्दा फिर्ता र राष्ट्रिय खेलकूद परिषदले गठन गरेको क्यानको तदर्थ समिति भङ्ग गर्ने विषयलाई मूल सर्त बनाउँदै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ