काठमाडौं । स्पेनिस ला लिगा फुटबल अन्तर्गत एलक्लासिकोमा बार्सिलोना विजयी भएको छ । बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले रियाल म्याड्रिडलाई ५–१ ले हराएको हो ।
नियमित कप्तान लियोनल मेस्सी बिना मैदानमा उत्रिएको बार्सिलोनाले यो किसिमको नतिजा ल्याउला भन्ने सोच्नुअघि नै खेलाडीहरुले शानदार खेले ।
बार्सिलोनाको जितमा लुइस स्वारेजको ह्याट्रिक सामेल थियो । बार्सिलोनाले फिलिप कौटिन्हो र स्वारेजको गोलमा पहिलो हाफमा २–० को अग्रता बनाएको थियो ।
११ औं मिनेटमा गोल गर्दै बार्सिलोनाले सुरुवाती लियो । ३० औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै अग्रता दोब्बर गरेको हो । स्वारेजले पेनाल्टीलाई सदुपयोग गरेका हुन्।
खेलको २८ औं मिनेटमा रफिएल भरानले स्वारेजमाथि फल गरेपछि रेफ्रीले पेनाल्टी दिएनन् । तर भिएआरको प्रयोगसँगै बार्सिलोनाले पेनाल्टी पाएको थियो।
दोस्रो हाफमा रियालले मार्सलोको गोलमा पुनरागमन गर्ने सम्भावना देखाएको थियो ।
२–१ ले अगाडि रहेको बार्सिलोनाले त्यसपछि तीन गोल थप्यो । स्वारेजले ७५ र ८३ अौं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । आर्टुरो भिडालले अन्तिममा गोल गर्दै फराकिलो जित पक्का गरे ।
यो जितले बार्सिलोना अंक तालिकामा शीर्ष स्थानमा कायमै रहेको छ । बार्सिलोनाको १० खेलबाट २१ अंक भएको छ । दोस्रो स्थानको डेपोर्टिभो अलाभेसको २० अंक छ ।
कमजोर रियाल मड्रिडको १० खेलबाट १४ अंक छ र नवौं स्थानमा छ ।