एमबाप्पे र ड्रेक्सलरले पिएसजीलाई दिलाए कीर्तिमानी जित
प्रकाशित २०७५ कार्तिक १२ सोमबार
168
Shares
काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन पिएसजी कीर्तिमानी जित दर्ता गरेको छ । लिग वान अन्तर्गत आइतबार राति भएको खेलमा पिएसजीले मार्सेलाई २–० ले हरायो ।
पिएसजीको यो लगातार ११ औँ जित हो । पिएसजीले यो जितसँगै टोटनह्यामले लिगका सुरुका ११ खेलमा लगातार जित निकाल्दै बनाएको कीर्तिमानसँग बराबरी गरेको छ । पिएसजीको जितमा केलियन एमबाप्पे र जुलियन ड्रेक्सलरले गोल गरे ।
एमबाप्पेले ६५ औँ मिनेटमा गोल गरे । इन्जुरी समयको पाँचौँ मिनेटमा ड्रेक्सलरले गोलमा परिणत गर्दै पिएसजीलाई २–० को जित दिलाए । नेयमारको प्रहारलाई ड्रेक्सलरले गोलमा परिणत गरेका हुन् ।
यो खेलपछि पिएसजीको ३३ अंक भएको छ । यसअघि सन् १९६०–६१ को सिजनमा टोटनह्यामले लिगका सुरुका ११ खेलमा जित निकालेको थियो । यो युरोपका शीर्ष पाँच लिगमा सुरुमा भएको लगातार सबैभन्दा लामो जित हो ।