- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नुवाकोट । जिल्लाव्यापी खुला क्रिकेट प्रतियोगिताको उपाधि देवीघाट क्लबले जितेको छ । नुवाकोट क्रिकेट सङ्घको आयोजनामा आज विदुर नपा–६ सिंचाइ चौरमा भएको फाइनलमा देवीघाटले नक्षत्र क्लब पीपलटारलाई २७ रनले पराजित गरी उपाधि जितेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको देवीघाटले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १३४ रन बनायो । देवीघाटका तर्फबाट विकास चित्रकारले नकआउट १८ रन, दिनेश चित्रकारले नटआउट १५ रन, राजेश रिमालले १५ रन र भेषराज रिमालले १३ रन बनाए । बलिङतर्फ नक्षत्रका प्रसिद्ध खड्का र राजन अधिकारीले २–२ विकेट र अभियान बस्नेत र सौरभ कुँवरले १–१ विकेट लिए ।
एक सय ३५ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको नक्षत्र १९ ओभरमा अलआउट हुँदै १०७ रन बनाउँदा २७ रनले पराजय भोग्न बाध्य भयो । नक्षत्रका तर्फबाट अभियान बस्नेतले ३२ रनबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् । बलिङतर्फ देवीघाटका विकास चित्रकारले ३ विकेट र विकास लामिछानेले २ विकेट लिए ।
प्रतियोगितामा खेलमा देवीघाटका विकास चित्रकार म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिताको बेष्ट बलर युनिक ब्वाइज ढुङ्गेका जीवन सिलवाल, बेष्ट ब्याट्सम्यान नक्षत्रका सुशान्त तिमिल्सिना र म्यान अफ दि सिरिज देवीघाटका विकास चित्रकार घोषित भए ।
प्रतियोगिता कात्तिक १० गतेदेखि शुरु भएको थियो । प्रतियोगिताका विजयीलाई विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले नगद र ट्रफी वितरण गरे । प्रतियोगितालाई पहिलो हुनेलाई रु. १० हजार र दोस्रो हुनेलाई रु ४ हजार पुरस्कार प्रदान गरिएको थियो । रासस