बुटवल । दसैं बिदामा लुम्बिनी भ्रमणमा आउने आन्तरिक पर्यटकको संख्या ह्वात्तै बढेको छ। यो वर्षको दसैंमा फूलपातीदेखि कोजाग्रत पूर्णिमासम्म ३९ हजार ६ सय २५ जना नेपाली पर्यटक लुम्बिनी आएको लुम्बिनी विकास कोषले जानकारी दिएको छ। यो अघिल्लो वर्ष दसैंको समयभन्दा तीन गुणा बढी हो।
गत वर्ष दसैंको फूलपातीदेखि कोजाग्रत पूर्णिमासम्मको अवधिमा १३ हजारले लुम्बिनी भ्रमण गरेको कोषको तथ्यांक छ। पछिल्लो समय नेपालीमा भ्रमण गर्ने संस्कृतिको विकास भएको छ।
विशेष गरेर चाडपर्वको बिदालाई भ्रमणमा उपयोग गर्ने प्रचलन बढेको छ। लामो बिदा हुने भएकाले दसैंमा टीका लगाएपछि परिवारसहित पर्यटकीयस्थल घुम्न जाने प्रचलन बढ्दै गएको छ।
विजया दशमीको पर्सीपल्ट आइतबारबाट लुम्बिनीमा आन्तरिक पर्यटकको भीड लागेको लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतले जानकारी दिए। ‘अघिल्ला वर्ष यस्तो भीड हुँदैन थियो’। उनले भने- ‘दसैंको टीकापछि यहाँ निकै भीड थियो।’
दसैंमा लुम्बिनीका होटल पनि भरिभराउ रहेको सिद्धार्थ होटल एसोसिएसन लुम्बिनी च्याप्टर अध्यक्ष मिथुनमान शाक्यले बताए। ‘विजयादशमी पछिका तीन दिन सबै होटल प्याक थियो। कतिपयलाई कोठा नपुगेर फर्काउनुपर्ने अवस्था थियो’, उनले भने, ‘होटलमा भएका पाहुनामध्ये ९० प्रतिशत त नेपाली नै थिए।’ लुम्बिनीका होटलमा चार हजार पाहुना राख्नसक्ने क्षमता छ।
ठाउँ नपुगेर कतिपय लुम्बिनी घुमरे बेलुका बस्न भैरहवा बुटवललगायत ठाउँमा जाने गरेका थिए।
गत वर्ष काठमाडौं, पोखरालगायत ठाउँबाट आउन मुग्लिन–नारायणगढ खण्डको निर्माणाधीन सडक समस्या बनेको थियो।
अहिले विस्तारित सडक सम्पन्न भइसकेको छ। शाक्यले भने, ‘यो वर्ष मुग्लिन–नारायणगढ सडकको सहजताले पनि आन्तरिक पर्यटकको आगमन बढेको हो।’