काठमाडौं । दुईवटा आत्मघाती गोल उपहार पाएपछि लन्डन क्लब चेल्सीले डर्वी काउन्टीलाई पराजित गर्दै काराबाओ कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको चौथो चरणको खेलमा च्याम्पियनसिप क्लब डर्बी काउन्टीलाई ३–२ ले पराजित गर्दै चेल्सी क्वार्टरमा पुगेको हो ।
डर्बीमा यस सिजन चेल्सीका पूर्व खेलाडी फ्रान्क लाम्पार्ड प्रशिक्षक रहेका छन् । चेल्सीका सेस फाब्रिगासले एक गोल गर्दा दुई गोल उपहार पाएको थियो । डर्वीका ज्याक म्यारीओट र मार्टिन वागहनले गोल गरे । सबै पाँच गोल पहिलो हाफमा सम्भव भएको थियो ।
चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा डर्बीका डिफेन्डर फिकायो तोमोरीको आत्मघाती गोलबाट चेल्सीले खेलको पाँचौ मिनेटमा सुरुवाती अग्रता लिन सफल भएको थियो । तर, चेल्सीको त्यो अग्रता ४ मिनेटमै तोडियो । नवौं मिनेटमा डर्बीका ज्याक मार्रियोटले बराबरी गोल फर्काए ।
खेलको २१औं मिनेटमा डर्बीका रिचार्ड क्योगले आत्मघाती गोल गर्दा चेल्सीले खेलमा २–१ को अग्रता लिन सफल भयो । २७ औं मिनेटमा मार्टिन वागहनले गोल गर्दै खेललाई पुन २–२ गोलको बराबरीमा ल्याएका थिए ।
४१औं मिनेटमा फाब्रिगासले गोल गर्दै चेल्सीलाई पहिलो हाफमा ३–२ को अग्रता दिलाए । दोस्रो हाफमा दुवै टोलीबाट गोल निस्कन नसक्दा चेल्सी ३–२ ले विजयी हुन सफल भयो । चेल्सीले क्वाटरफाइनलमा बर्नमाउथसँग खेल्नेछ ।
अन्य खेलमा आर्सनलले ब्ल्याकपुललाई २–१ ले हरायो । टोटनह्याम हट्सपरले वेष्टह्याम युनाइटेडलाई ३–१ ले तथा मिडिल्सब्रोले क्रिष्टल प्यालेसलाई १–० ले हरायो ।