खेलक्षेत्र आर्थिक समृद्धिको आधार : मन्त्री विश्वकर्मा
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७५ कार्तिक १५ बिहिबार
263
Shares
स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिकाको स्वरेकमा नेपालकै प्रथम प्यारागलाईडिङ् प्रतियोगिता बिहिवारबाट शुरु भएको छ । पाराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ संघ, नेपाल हवाई खेलकुद संस्था, बाबु एड्भेन्चर क्लब स्याङ्जाको संयुक्त आयोजनामा शुरु भएको फस्ट नेपाल प्यारागलाईडिङ् एक्युरेसी वल्र्ड कप २०१८ प्रतियोगिताको उदघाटन नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले गरेका छन् ।
खेलको उदघाटन गर्दै मन्त्री विश्वकर्माले खेलक्षेत्र नेपाल चिनाउने र आर्थिक समृद्धिको आधार भएको उल्लेख गरे । हाल सम्म कुनै खेलको विश्व वल्र्डकप हुन नसकेको अवस्थामा स्याङ्जाले प्यारागलाईडिङ्को विश्व वल्र्डकप आयोजना गरेर देशको गौरव बढाएको मन्त्री विश्वकर्माको भनाई थियो ।
विगतका दिनहरुमा खेल क्षेत्रलाई नेपाल सरकारले चिन्न नसक्दा ठुलो क्षती व्यहोरेको उल्लेख गर्दै मन्त्री विश्वकर्माले खेलक्षेत्रलाई छुट्टै पाठ्यक्रम बनाउने तयारी गरेको उल्लेख गरे ।
सामाजिक, संस्कृतिको विविधताले खेल क्षेत्र ओझेलमा परेको बताउदै मन्त्री विश्वकर्माले मुलुकको परिवर्तन सगै निमार्ण गरेको संघिय लोकतान्त्रिक संविधानमा समेत खेलको नीति निर्माण भएको बताए । नेपालले हालै इन्डोनेसियाको जाकार्ता र पालेङवाङमा सम्पन्न भएको १८औं एसियाली खेलकुदमा पाराग्लाइडिङले नेपाललाई एकमात्र पदक दिलाएका थिए ।
पदक प्राप्त भएपछि नेपालमा प्रथम प्यारागलाईडिङ प्रतियोगिता गर्ने अवसर सगै हौसला मिलेपछि स्याङ्जाले यो खेलको आयोजना गरेको हो । प्रतियोगितामा २१ राष्ट्रका ९८ खेलाडीहरुले भाग लिने छन् । प्रतियोगिता शुक्रबार बाट मात्रै हुने आयोजकले जनाएको छ ।
जिल्ला समन्वय समिति, स्याङ्जा, जिल्लाका ११ स्थानिय तह र सरकारको सहयोगमा हुने प्रतियोगिताका बिजयी टिमतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश १५ सय, १२ सय र ७ सय युरो प्राप्त गर्नेछन् । ब्यक्तिगततर्फ पहिलो, दोश्रो र तेश्रो हुनेले क्रमशः १ हजार, ७ सय ५० र ५ सय युरो प्राप्त गर्ने छन् । प्रतियोगिताको बजेट करिब १ करोड ६० लाख रुपैयाको हुने भीरकोट नगर प्रमुख छायाराम खनालले बताए ।