arrow

पर्वतमा थपियो पाँच पर्यटकीय गन्तव्य

logo
प्रकाशित २०७५ कार्तिक १६ शुक्रबार
parbat_district_map.png

कुश्मा। थुप्रै धार्मिक, ऐतिहासिक तथा पुरातात्विक सम्पदा भएर पनि पर्यटकीय गन्तव्य सूचीमा नपरेको पर्वत जिल्लाका पाँच स्थानलाई सरकारले पर्यटकीय गन्तव्यको सूचीमा सुचीकृत गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबार सार्वजनिक गरेको एक सय पर्यटकीय गन्तव्यको सूचीमध्ये यहाँको गुप्तेश्वर गुफा, सेतीवेणी शिला र पञ्चासेलाई स्थापित पर्यटकीय गन्तव्यको रुपमा सुचीकृत गरिएको हो।

यसैगरी कुश्मा नगरपालिका–३ दुर्लुङमा सञ्चालित क्यानोनिङ र महाशिला गाउँपालिकामा रहेको महाशिला नयाँ तथा विकास गरिनुपर्ने पर्यटकीय गन्तव्यको सूचीमा समावेश भएको छ।

पञ्चासे कास्की, पर्वत र स्याङ्जा जिल्लाको सङ्गममा रहेको पर्यटकीय गन्तव्य हो। पोखराबाट नजिक रहेको यस क्षेत्र पदयात्रा, हिमशृङ्खलाको दृश्यावलोकन, धार्मिक केन्द्र र घरबासका कारण स्थापित पर्यटकीय गन्तव्य बनेको हो। कुश्मा नगरपालिका–४ कुश्माबजारमा रहेको गुप्तेश्वर गुफा सात तले अलौलिक गुफा हो। मध्यपहाडी राजमार्गबाट ५०० मिटर तल रहेको यो गुफालाई पर्यटकीय र धार्मिक केन्द्रको रुपमा विकास गरिँदै लगिएको छ भने पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा पर्ने सेतीवेणीमा कालीगण्डकी जलजविद्युत् केन्द्रमा बनेको जलाशयमा सञ्चालित स्टिमरका कारण आन्तरिक पर्यटकको रोजाइमा परेको छ।

गत वर्षदेखि सञ्चालनमा आएको कुश्मा नगरपालिका–३ दुर्लुङको क्यानोनिङ, केभिङ र महाशिला गाउँपालिकामा रहेको एशियाकै ठूलो शिलामा शिवको सुतेको मूर्ति बनाई विश्वभरका पर्यटक र धार्मिक तीर्थयात्री भित्र्याउने योजना अघि सारिएको छ तर नयाँ पदमार्गको रुपमा विकास गरिँदै लगिएका हम्पाल, जलजला, भँवरकोट, अग्ला र लामा पुल तथा नयाँ बन्दै गरेको विश्वकै दोस्रो अग्लो बञ्जिजम्प भने पर्यटकीय गन्तव्यको रुपमा छुटेका छन्।

पछिल्लो समय ती अग्ला र लामा पुलमा दैनिक हजारौं पर्यटक आउने गरेका छन्। भँवरकोट हुँदै घारेपानी जाने पदमार्गमा पूर्वाधार निर्माणका काम भइरहेको छ। घुमाउने तालदेखि बाँसखर्क, लोप्रे हुँदै घारेपानी पुग्ने अन्नपूर्ण मिलेनियम पदयात्रा मार्गमा पनि पदयात्री आइरहेका छन्। 
जलजला र हम्पाल क्षेत्र तथा डहरे देउरालीलगायत क्षेत्रलाई पनि पर्यटकीय गन्तव्य बनाउन स्थानीय तहले बजेट निनियोजनका साथै विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन्। गुप्तेश्वर गुफा पर्यटकीय गन्तव्य सूचीमा परेपछि यहाँ पर्यटकको आकर्षण थप बढ्ने गुप्तेश्वर धार्मिक तथा पर्यटकीय विकास संस्थाका अध्यक्ष मानकुमारी गिरी बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ