arrow

कर्णालीमै १० लाख पर्यटक पुर्‍याउने रवीन्द्र अधिकारीको कुरामा दम छ ?, के भन्छन् प्रकाश ज्वाला ?

logo
प्रकाशित २०७५ कार्तिक १७ शनिबार
jumla.jpg

सुर्खेत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पर्यटकीय पूर्वाधार विकास गर्दै अबको पाँचदेखि सात वर्षभित्र कर्णालीमा १० लाख विदेशी पर्यटक पुर्‍याउने उदघोष छन् । 

जुम्ला पुगेका बेला उनले देशकै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा विकास गरी आगामी सात वर्षभित्र १० लाख पर्यटक भित्र्याउने उदघोष गरेका हुन् । चन्दननाथ नगरपालिमा नवनिर्मित बोधिचैत्यको उदघाटनमा मन्त्री अधिकारीले कर्णाली प्रदेशलाई महत्वपूर्ण पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने उल्लेख गरे ।  । द हिमालयन पिस एशोसिएशनले निर्माण गरेको बोधिचैत्य पर्यटकको बसाई अवधि लम्ब्याउने नयाँ आकर्षण हो । 

पर्यटनमन्त्री अधिकारीले भनेको जस्तो १० लाख विदेशी पर्यटक भित्र्याउने के आधार छ ? हामीले कर्णाली प्रदेशका अर्थमन्त्री प्रकाश ज्वालालाई सोध्यौँ । उनले भने, ‘पर्यटन मन्त्रीले आधार नै नभई भन्नु भएको होइन । हामीले त्यही प्रकारका कार्यक्रम अघि सारिसकेका छौँ ।’

कस्तो कार्यक्रम ? जवाफमा उनले भने, ‘यही वर्ष हामीले कर्णाली रारा पर्यटन वर्ष घोषणा गरेर विभिन्न कार्यक्रमहरु तय गरेका छौँ । त्यसका लागि बजेट विनियोजन भइसकेको छ ।’ अर्थमन्त्री ज्वालाका अनुसार कर्णाली रारा पर्यटन वर्षका लागि प्रदेश सरकारले २ करोड बजेट छुट्याएको छ । त्यसका लागि विभिन्न कार्यक्रमहरु तय गरिएका छन् । 

केन्द्र अर्थात् संघ सरकारका पर्यटनमन्त्री मन्त्री अधिकारीले कर्णालीमा पर्यटकको चाप बढे पनि पूर्वाधार अभावलाई पूर्ति गर्न सरकारले कुनै कसूर बाँकी नराख्ने भनेका छन् । उनले यसमा निजी क्षेत्र र स्थानीय समुदायलाई सक्रिय हुन पनि भनेका छन्  । 
कर्णालीका १० वटा जिल्ला पर्यटकीय आकर्षणले भरीपूर्ण छन् । नेपालगञ्जबाट जुम्ला हुँदै रारा पुगिन्छ भने हुम्लाबाट मानसरोवर जाने भारतीय पर्यटक बढी पुग्छन् । जुम्लालाई सिङ्जा राज्यदेखि ऐतिहासिक थलो सबैको पुर्खेली मातृभूमि पनि भनिन्छ । 

केही महीनाअघि मात्रै कर्णाली सरकारले २०७५ लाई कर्णाली पर्यटन वर्ष घोषणा गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले रारामा उद्घाटन गरेको अभियानपछि पर्यटकको संख्या बढेको बताइँदै छ । रारा राष्ट्रिय निकुञ्जका अनुसार असोज महिनामा मात्र करीब पाँच हजार आन्तरिक पर्यटक रारा घुम्न पुगेका छन् । रारा पुग्ने विदेशी पर्यटकको संख्या पनि बाक्लिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ