arrow

चीनको खुलापनप्रतिको प्रतिबद्धता ‘चाइना इन्टरनेशनल इम्पोर्ट एक्स्पो’ (भिडियो)

logo
अजय अलौकिक,
प्रकाशित २०७५ कार्तिक १८ आइतबार
CIIE-china-import-expo.jpg

साङहाई। यो वर्ष चीनको सुधार तथा खुलापन नीतिको चालिसौं वार्षिकोत्सव हो। सन् १९७८ मा सुरु भएको यो सुधार तथा खुलापन नीतिले चीनका लागि महत्वपूर्ण भूमिका सिर्जना गरेको छ। यस अवधिमा चीनले अर्थतन्त्र, व्यापार, विज्ञान प्रविधि, उद्योग, गरिबी निवारण आदि क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको छ। सन् २०१८ सम्म पुग्दा चीनको विकास अकल्पनीय देखिन्छ। चालिस वर्षको अन्तरालमा चीन विश्वको सबैभन्दा महत्वपूर्ण आर्थिक तथा व्यापारिक मुलुक बनेको छ।

यसै सुधार तथा खुलापन नीतिलाई निरन्तरता दिन तथा अन्तर्राष्ट्रिय बजारमा व्यापार प्रबर्द्धन गर्नका लागि चीनले आयातलाई मुख्य विषय बनाएर एक्स्पोको आयोजना गर्दैछ। नोभेम्बर ५ देखि चीनको साङहाई (सांघाई) मा ‘चाइना इन्टरनेशनल इम्पोर्ट एक्स्पो’ हुँदैछ। पहिलो पटक हुन लागेको यस आयात मेलामा विश्वका १ सय ३० देशका प्रतिनिधि सहभागी हुने छन्। मेलामा ८० देशका पेभेलियन रहने तथा १ लाख ५० हजार संस्थागत् उपस्थित रहने छन्।

Image may contain: 1 person, sunglasses and closeupचीनले निरन्तर रुपमा सुधार तथा खुलापनलाई गहन पार्दै सारा विश्वको बहुपक्षीय व्यापारिक प्रणालीको संरक्षण गर्दै जाने अठोट देखाउनका लागि नै यो आयात मेलाको आयोजना गरेको हो। चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले गत वर्षको मे महिनामा सन् २०१८ देखि अन्तर्राष्ट्रिय आयात एक्स्पोको आयोजना गर्ने घोषणा गरेका थिए। त्यसै अनुरूप, साङहाईमा ‘चाइना इन्टरनेशनल इम्पोर्ट एक्स्पो’ हुँदैछ। 

हाल विश्वमा व्यापारिक जोखिम बढ्दै गएको छ। विश्व अर्थतन्त्र सामु एकपक्षीयतावाद र व्यापार संरक्षणवाद पूर्वानुमानभन्दा गम्भीर देखिन्छ। यता चीनले आयातलाई मुख्य विषय बनाएर पहिलो आयात मेलाको आयोजना गरेबाट चीनको खुलापनप्रतिको दृढता अभिव्यक्त भएको छ। चीन मामिला सम्बन्धीत् विशेषज्ञहरूले पनि यो आयात मेलाबाट विश्वलाई चीनले खुलापनको विस्तार गर्ने सकारात्मक संकेत दिइएको र चीनको यस व्यावहारिक कदमले विश्वको व्यापार सन्तुलनलाई पनि टेवा पुर्याइरहेको औंल्याएका छन्।

यो चीन अन्तर्राष्ट्रिय आयात मेला विश्वकै पहिलो आयात सम्बन्धी प्रदर्शनी पनि हो। यसले अर्थतन्त्रको विश्वव्यापीकरणलाई बढाउन योगदान दिनेमा कुनै शंका छैन साथै विभिन्न देशबीच आर्थिक तथा व्यापारिक सहयोगलाई पनि गहन पार्ने नै छ र चीनको सुधार तथा खुलापनलाई पनि मेलाले अझै जैविक शक्ति थप्ने छ भन्ने विश्वास गर्न सकिन्छ। विज्ञका अनुसार, विश्वका विभिन्न मुलुकहरूबीच व्यापारिक तथा आर्थिक आदानप्रदानको लागि नयाँ मञ्च खडा भएको छ जसको दीर्घकालीन् महत्व रहने छ।

चीनको विकाससँगसँगै चिनियाँ नागरिकको पनि आमदानीमा धेरै बढोत्तरी भएको छ। यो चार दशकमा ७०० मिलियन चिनियाँ गरिबीबाट मुक्त भएका छन् भने धनीको संख्या पनि दिनप्रतिदिन बढ्दै गएको छ। हाल चीन विश्वमा नै सबैभन्दा धेरै धनाढ्यहरूको मुलुक पनि हो। यस परिप्रेक्ष्यमा पनि चिनियाँ उपभोक्ताको उच्च गुणस्तरयुक्त आयातीत वस्तुप्रति झुकाव रहने प्रष्टिन्छ। 

चिनियाँ वाणिज्य मन्त्रालयले हालै आयातीत वस्तु लक्षीत एक सर्वेक्षण विश्लेषण प्रतिवेदन पनि सार्वजनिक गरेको छ। यस प्रतिवेदनका अनुसार चिनियाँ उपभोक्ताको आयातीत वस्तुप्रतिको माग झन् झन् बढ्दै गएको छ। केही वर्षयता उच्च गुणस्तरको आयातीत वस्तुले चिनियाँ नागरिकलाई बढी आकर्षित गरेको देखिन्छ। 

चिनियाँ वाणिज्य मन्त्रालयको अन्तर्राष्ट्रिय व्यापार तथा आर्थिक सहयोग अनुसन्धान प्रतिष्ठानको अन्तर्राष्ट्रिय बजार अनुसन्धान विभागका उपप्रमुख पाइ मिङ्गको विचारमा उपभोग्य स्तर बढ्नुको साथमा उपभोक्ताले गुणस्तरलाई निकै जोड दिँदै आएका छन्। पहिले चिनियाँ नागरिकको आमदानी कम भएकाले वस्तुको मूल्यलाई हेर्ने गर्दर्थ भने हाल जीवन स्तरमा निकै सुधार आएकाले वस्तुको गुणस्तरलाई जोड दिएको देखिन्छ।

वास्तवमा केही वर्षयता चीनले विदेशबाट आयात बढाउने भन्दै आएको छ। चीनको वाणिज्य मन्त्रालयको अन्तर्राष्ट्रिय व्यापार तथा आर्थिक सहयोग अनुसन्धान प्रतिष्ठानको क्षेत्रीय सहयोग अनुसन्धान केन्द्रका प्रमुख चाङ च्यान फिङका अनुसार, आयातको विस्तारबाट नागरिकको मागलाई बढाउने मात्र नभइ अर्थतन्त्रको वृद्धिलाई पनि प्रबर्द्धन गर्ने छ। 

हाल चीन सरकारले धेरै वस्तुको भन्सार कर लगातार घटाएको पनि छ। विशेषज्ञका अनुसार, भन्सार करको कटौतीले केही परिमाणमा आयात लागत घटेको छ जसले ती वस्तुको चिनियाँ बजारमा विकास गर्नका लागि उपयुक्त अवसर सिर्जना गरेको छ। चीनको वित्तिय नीति विज्ञान प्रतिष्ठानका अध्यक्ष ल्यु शाङ सिका अनुसार, भन्सार कर घटाएबाट चिनियाँ व्यवसायको प्रतिस्पर्धात्मक धारणालाई प्रेरित गर्ने छ। जसबाट अझ उत्कृष्ट वस्तुको उत्पादन गर्नसकिने छ।

भिडियो :

सम्बन्धित तथ्याङ्कअनुसार, चीन कार उत्पादन र बिक्री मात्रामा लगातार नौ वर्षसम्म विश्वको पहिलो स्थानमा रहेको छ। चीनको कारको बिक्री मात्रा अमेरिका, जापान, जर्मनी, बेलायतको बजारको योगफल बराबर छ। यसै वर्षको जुलाई १ तारिखदेखि चीनले कारलगायत उपभोग्य वस्तुको आयात भन्सार कर घटाएको छ। २५ प्रतिशत र २० प्रतिशतको कार भन्सार करलाई १५ प्रतिशतसम्म घटाएको छ। खुल्लापनको विस्तारबाट चिनियाँ नागरिकका लागि मात्र लाभ र हित उपलब्ध नगराइ अन्य मुलुकको व्यवसायका लागि पनि लाभको अवसर सिर्जना गरेको छ।

प्रथम चीन अन्तर्राष्ट्रिय आयात मेला नोभेम्बर ५ तारिखदेखि १० सम्म शाङहाईमा आयोजना हुँदैछ। उक्त मेलामा नेपालको तर्फबाट व्यापार प्रवर्द्धन तथा निकासी प्रवर्द्धन केन्द्रको संयोजनमा पर्यटन बोर्ड, लगानी बोर्डका साथै निजी क्षेत्रका उद्यमी व्यवसायीको सहभागिता रहने छ। नेपालबाट नेपालका प्रमुख निकासीयोग्य वस्तुहरू गलैंचा, धातु, काष्ठ, पत्थरका मूर्ति, हस्तकला, नेपाली कागजका सामान, थाङ्का, चाँदीका गरगहना, पस्मिना तथा ऊनीजन्य वस्तु, चिया आदि सामान प्रदर्शनमा राखिने छन्। 

यस मेलाबाट नेपाल र चीनबीच रहेको मैत्रीपूर्ण सम्बन्धमा थप योगदान पुग्ने छ र पर्यटन प्रबर्द्धनमा पनि सघाउ पुग्ने छ भन्ने आशा गर्न सकिन्छ। तर चीनसँग रहेको व्यापार घाटा कम गर्न सघाउ पुग्ने छ या छैन भने तत्काल् भन्न सकिने ठाउँ छैन। यो आयात मेला हो तर चीनले नेपाललाई ८ हजार ३० वटा वस्तुमा भन्सार छुटको सुविधा उपलब्ध गराए पनि निर्यात बढाउन सकेको छैन। स्वदेशी वस्तुको निर्यात बढाउन नसक्दा चीनसँगको व्यापार घाटा दिनप्रतिदिन बढ्दै गएको छ। आशा गरौं, चीनको खुलापन नीतिप्रति स्पष्ट प्रतिबद्धता स्वरूप आयोजना गरिको यस चीन अन्तर्राष्ट्रिय आयात मेलाबाट नेपालले पनि दीर्घकालसम्म अत्याधिक लाभ उठाउने छ।

(लेखक, जनगणतन्त्र चीनको चिनियाँ अन्तर्राष्ट्रिय रेडियो पैचिङका विशेषज्ञ हुन्।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ