जनता बैंक रामपुरद्धारा विद्यार्थीलाई छात्रबृत्ति प्रदान
सीता डोटेल,
प्रकाशित २०७५ कार्तिक १९ सोमबार
163
Shares
पाल्पा । जनता बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरेको छ । जनता बैंक नेपाल रामपुर शाखाले एक कार्यक्रम गरि रामपुर क्षेत्रकै जेठो बिद्यालय रामतुलसी माध्यामिक बिद्यालयका २ जना बिपन्न समुदायका विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरेको हो ।
जनता विकास बैंक रामपुर शाखाका प्रबन्धक बाबुराम लम्सालले बिद्यालयका कक्षा ११ का विद्यार्थी राम बहादुर दमै र कक्षा १२ का विद्यार्थी दिपिका परियारलाई नगद ५-५ हजारको चेक हस्तान्तरण गरे । बैंकका प्रमुख लम्सालले मेहनती, अनुशासित र घरको आर्थिक अबस्था कमजोर भएर पनि पढाईलाई निरन्तर बढाउने विद्यार्थी छनौट गरि छात्रबृत्ति प्रदान गरेको बताए।
उनले पढाईमा सहयोग होस् भनेर संस्थाले सानो भएपनि सहयोग गरेको बताउदै शैक्षिक सामाग्री किनेर उचित काममा रकम लगाउन विद्यार्थीलाई अनुरोध गरे । छात्रबृत्ति प्राप्त गर्न सफल छात्र दमै कक्षा ११ मा शिक्षा र बिज्ञान संकायमा अध्ययनरत छन् भने कक्षा १२ की छात्रा परियार शिक्षा संकायमा अध्ययनरत छन् । उनीहरु बिद्यालयको मेधावी विद्यार्थी हुन् ।
रामतुलसी माबिका प्रध्यानाध्यापक बालकृष्ण लम्सालले बैंकले आफ्नो सामाजिक उत्तरदायित्वको कार्यक्रममा बिद्यालयसँग समन्वय गरेकोमा धन्यवाद दिदै समाजका हरेक संघसंस्थाले सामाजिक अभियानलाई बढावा दिने यस्ता कार्यक्रम गरेको खण्डमा सर्बसाधारणसम्म सेवा पुग्ने बताए । प्रध्यानाध्यापक लम्सालले जनताको रोजाई बन्दै गएको जनता बैंकसँग आफुले नियमित समन्वय गर्न खोजेको बताउदै बैंकले बिद्यालयलाई नजिक मानेर कार्यक्रम गरेकोमा धन्यवाद दिए।
जनता बैंक नेपाल रामपुर शाखाका रिलेसनसिप म्यानेजर कृष्ण प्रसाद भट्टराईले जनता बैंकले प्रदान गरेको छात्रबृत्तिका बारेमा जानकारी दिदै जनता बैंकले नागरिकमा दिएको सेवा सुबिधा बारे स्पष्ट पारेका थिए । उनले बैंकमा खाता खोलेर अहिलेका पुस्ता र जनताको सम्बन्ध सुमधुर बनाउन आग्रह गर्दै जनता रेमिटको सेवा प्रयोग गर्न र परिवारमा सल्लाह दिदै सामाजिक कार्यमा सदैव साथ रहने बताए।