तर्सिए वनमन्त्री : ‘विमानस्थल निर्माणको आधार बनेपछि मात्रै निजगढमा रुख काट्न दिन्छु’
प्रकाशित २०७५ कार्तिक १९ सोमबार
224
Shares
काठमाडौं । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणबारे उठेका प्रश्नले तर्सिएका छन् । पर्यावरणको कुरा बढीनै उठेपछि मन्त्री बस्नेत तर्सिएका हुन् । अहिले उनी फुकी–फुकी बोल्न थालेका छन् । उनले बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको आधार बनेपछि मात्रै रुख काट्ने अनुमति दिने बताएका छन् ।
सिंहदरबारमा सञ्चारकर्मीहरुसँगको छलफलमा बस्नेतले विमानस्थल मुलुकको आवश्यकता भएपनि कम भन्दा कम वातावरणीय क्षतिमा निर्माण सक्नुपर्ने सुनाए । उनले विमानस्थल निर्माणबारे वन तथा वातावरण र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच नियमति छलफल भइरहेको जानकारी दिए । र, भने, ‘दुई मन्त्रालयबीच कुनै विमति छैन । यसमा स्पष्ट हुनुहोला ।’
निजगढ विमानस्थल निर्माणलाई प्रभावित पार्ने नियतका साथ तर्क गर्नेहरुलाई सरकारले सम्बोधन गर्न नसक्ने भन्दै मन्त्री बस्नेतले सकारात्मक चासो, चिन्ता र जैविक विविधताको संरक्षणबारे उठाइएका प्रश्नबारे निकै धेरै सोच्ने बताए ।
मन्त्री बस्नेतले भनेका छन्, ‘वातावरण र विकासबीचको सन्तुलन मिलाएर मात्रै अगाडि बढ्ने मन्त्रालयको प्राथमिकता र दृष्टिकोण छ ।’
बस्नेतले निजगढ विमानस्थलबारे छुट्टै कोष बनाएर कोषमा क्षतिपूर्ति वापत् आउने रकम वृक्षारोपणको लागि खर्च गर्ने मन्त्रालयको योजना छ, भने । मन्त्रालयले अहिलेसम्म विभिन्न निकायलाई देशभर १६ हजार सात सय १६ हेक्टर वन क्षेत्र उपलब्ध गराइसकेको मन्त्री बस्नेतको भनाई छ ।
तर, ती आयोजनाले सम्झौताको शर्तअनुसार क्षतिपूर्ति नतिर्ने, वृक्षरोपण नगर्ने र गरे पनि देखाउन मात्र गर्ने गरेको समस्या उनले पत्रकारलाई सुनाए । यद्यपि, त्यसमा पिर गर्नु पर्ने कुनै कारण नभएको भन्दै उनले त्यस्तो समस्या समाधानका लागि पनि मन्त्रालयले विकल्प सोचिसकेको बताए ।