प्राधिकरणले काम सुरु गरेको ७ बर्षपछि बझाङ राष्ट्रिय प्रसारण लाईनमा जोडियो
स्थानीय बासीमा खुशीयाली
शैलेन्द्र रोकाया,
प्रकाशित २०७५ कार्तिक २० मंगलबार
779
Shares
बझाङ। लामो समय देखि विद्युतको समस्या झेल्दै आएका जिल्लाबासीहरु विद्युतको राष्ट्रिय प्रसारण लाईन विस्तार भई सदरमुकाम चैनपुर लगायत आसपासका क्षेत्रमा विद्युत बलेपछि खुसी भएका छन् । नेपाल विद्युत प्राधिकरणले विगत सात बर्ष यता बझाङं जिल्लामा राष्ट्रिय प्रसारण लाईन जोड्नका लागि काम गर्दै आएको भएपनि यसपालि सबै काम सकिएपछि आधिकारिक रुपमा प्राधिकरणले मंगलबार बिहान १० बजेबाट राष्ट्रिय प्रसारण लाईनको विद्युत छोडेपछि स्थानीय स्तरमा खुशीयाली छाएको हो ।
यहाँ स्थित बझाङ साना जलविद्युत आयोजनाबाट २०५० साल देखी ठेकेदार कम्पनी सुर्मादेबी विद्युत प्राली मार्फत विद्युत सेवा प्रवाह गर्दै आएको भए पनि पटक पटक बिग्रेर महिनौसम्म बन्द हुने , विद्युत बले पनि भोल्टेज कम भएर काम नगर्ने भएपछि समस्या झल्दै आएका थिए । स्थानीय बासीले झण्डै १० बर्षदेखि राष्ट्रिय प्रसारण लाईनका लागी माग गर्दै आएको भए पनि स्थानीयबासीको माग बल्ल पुरा भएको छ ।
प्राधिकरणका कर्मचारीहरुले बैतडीको खोडेपेबाट ३३ केभीको लाईन सदरमुकाम चैनपुर सम्मको ८५ किलोमिटर लाईन बिस्तार गरि दुई वटा ट्रान्सफर्मर मार्फत सदरमुकाम चैनपुर बजार क्षेत्रमा झण्डै दुई हजार घरधुरी लाई बितरण गरिएको नेपाल विद्युत पा्रधिकरणका ईन्जिनियर चिज बहादुर गुरुङ्गले जानकारी दिए । उनले भने विद्युत लाईनमा प्राकृतिक बिपतीका घटना बाहेक अरु कुनै पनि समस्याले विद्युत प्रबाहमा अबरुद्ध हुदैन । पत्रकार सम्मेलन गर्दै उनले भने '३३ केभी विद्युतको क्षमता हो तर अहिले सदरमुकाम चैनपुरमा विद्युतको समस्या भएको स्थानीयबासीको ब्यापक जनगुनासो आएकाले सब स्टेसन नबन्दै दुई वटा ट्रान्सफर्मरबाट ३३ हजार भोल्टलाई चार सय भोल्टमा झारेर बितरण गरेका हौ ।'
नेपाल विद्युत प्राधिकरणले सुर्मा देबी विद्युत प्राली नामक ठेकेदार कम्पनी मार्फत सञ्चालन गरिएको बझाङ साना जलविद्युत आयोजनाबाट उत्पादित बिजुलीलाई सदरमुकाम बाहिरको लाईन बिस्तार गरेको ठाँउमा वितरण गरेको छ । नेपाल विद्युत प्राधिरणले एक पत्रकार सम्मेलन गरि जिल्लाका प्रतिनिधी शभा सदस्य , पुर्ब सांसद , नगरपालिका प्रमुख , जिल्ला समन्वय समिती प्रमुख लगायत स्थानीयबासीहरुका बिचमा विद्युत सेवा सुचारु भएको जानकारी गराएको थियो ।
लामो समयको प्रयासपछि राष्ट्रिय प्रसारण लाईनसंग जोडिएपछि सबै भन्दा व्यपार व्यवसाय गर्नेहरु खुसी भएका छन् । यस भन्दा अगाडीको सदरमुकाम चैनपुरको विद्युतले दिन सम्म दुख दियो सदरमुकाम चैनपुरका एक होटेल ब्यबसायि बिरेन्द्र बहादुर सिंहले भने 'बिजुली अबरोधका कारण यो बर्ष मात्र झण्डै एक लाख भन्दा बढी खर्च भयो ।' सिहंले थपे 'जेनेटरबाट विद्युत सेवा सञ्चालन गर्दा सबै भन्दा खर्चिलो थियो अब राष्ट्रिय प्रसारण लाईनको बिजुली बलेपछि खुसी छौ ।'
सबैको सहयोग र दवावले राष्ट्रिय प्रसारण लाईनसंग सदरमुकाम चैनपुर जोडिएपछि निकै खुसी भएको बताउदै प्रतिनिधी सभा सदस्य भैरब बहादुर सिंहले सोको स्थर उन्नती र अन्य कार्यका लागी समेत आफुले सक्दो प्रयास गर्ने बताए ।
नेपाल विद्युत प्राधिकरणको बझाङ बितरण केन्द्रको अफिस समेत स्थापना गरि सात जनाको दरबन्दी सहित कर्मचारि समेत जिल्ला आई सकेका छन् । झण्डै ३५ बर्ष देखि सदरमुकाम चैनपुर तथा आसपासका क्षेत्रमा विद्युत सेवा प्रवाह गर्दै आएको सुर्मादेबी विद्युत प्रालीलाई समेत औपचारिक रुपमा बिदाई गरि अब बुधबार देखि प्राधिरणले आफैले सञ्चालन गर्ने भएको छ ।