arrow

तिलोत्तमामा किसानलाई गहुँको बिउमा ४० प्रतिशत अनुदान

logo
प्रदीप आचार्य,
प्रकाशित २०७५ कार्तिक २० मंगलबार
anudan.jpg

बुटवल ।  रुपन्देहीको तिलोत्तमा नगरपालिकामा किसानलाई अनुदानमा गहुँको बिउ वितरण सुरु भएको छ ।  नगर कार्यपालिकाको ४७ औं बैठकको निर्णयअनुसार मंगलबारबाट ४० प्रतिशत अनुदानमा गहुँको बिऊ वितरण सुरु भएको हो ।

मंगलबारबाट आनन्दवन सहकारी संस्था लिमिटेडले अनुदानको गहुँ बिऊ बिक्री सुरु गरेको छ भने कोटिहवा स्थित जनविकास सहकारी संस्था लिमिटेडले केही दिनभित्रै बिक्री सुरु गर्ने जनाइएको छ ।

आनन्दवन सहकारीले वडा नं. १ देखि १० र जनविकास सहकारीले वडा नं. ११ देखि १७ सम्म अनुदानको बिऊ किसानलाई बिक्री गर्नेगरी व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ ।

मंगलबार मणिग्राम स्थित आनन्दवन सहकारी संस्थामा आयोजित एक कार्यक्रमबीच नगर प्रमुख बासुदेव घिमिरेले बड्का केवट, हरि कंडेल र टेका प्रसाद अर्याललाई एक-एक बोरा बिउ उपलब्ध गराएर वितरण कार्य सुरु गरेका हुन् ।

नगरपालिकाले दुई सहकारीसँगको सहकार्यमा सिफारिस गरिएको उन्नत जातको सुधारिएको गहुँको बीउमा किसानलाई अनुदान दिएको हो । नगरपालिकाले अनुदानका विषयमा व्यवस्था मिलाउन १४ नम्बर वडाध्यक्ष सोहनप्रसाद थारुको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ ।

नगरपालिकाले यस वर्ष करिव ७ सय क्विन्टल अनुदानको गहुँको बिऊ किसानले सहकारीमार्फत् लैजाने अपेक्षा गरेको छ ।  गहुँ खेती गर्ने किसानहरुले आवश्यक कागजातको आधारमा अनुदानको बिउ प्राप्त गर्न सक्नेछन् । गहुँको बिउ वितरण कार्यक्रममा बोल्दै नगर प्रमुख घिमिरेले किसानलाई व्यवसायिक बनाउन र केही राहत दिन बिऊमा अनुदान दिइएको बताए ।

नगरपालिकाको कृषि समितिले किसानलाई अनुदानमा गहुँको बिउ उपलब्ध गराउन सिफारिस गरेको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ