arrow

दिक्तेल बजारमा भएको आगलागीबाट तीन करोडको क्षति

logo
उत्तम चौलागाँई,
प्रकाशित २०७५ कार्तिक २३ शुक्रबार
khotang-fire.jpg

खोटाङ। सेल रोटी पकाउँनेक्रममा दिक्तेलबजारस्थित रत्पार्कमा लागेको आगलागीमा झण्डै तीन करोडको क्षति भएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर–१ स्थित रत्नपार्कमा लागेको विहीवार लागेको भीषण आगलागीमा २ करोड ९० लाख ९२ हजारको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

भाईटीकाका लागि राति अवेरसम्म सेल रोटी पोलेर सुतेका स्थानीय अम्बिका बुढाथोकीको घरबाट लागेको आगोले कृष्णकुमार श्रेष्ठको घरसमेत खरानी भएको छ। आगोले दुई घर पूर्णरुपमा र दुई घर आंशिकरुपमा क्षति पु(याएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक राजकुमार केसीले जानकारी दिए।

कृष्ण श्रेष्ठको घर, लत्ताकपडा, सुनचाँदी, नदग, गरि अन्दाजी एक करोड २५ लाख, अम्बिका वुढाथोकी र अस्मिता बुढाथोकीको संयूक्त नाममा रहेको घर, सुनचाँदी लत्ताकपडा खाध्यन्न गरि एक करोड २४ लाख, बुढाथोकीको घरमा डेरा गरि बस्ने सावित्रा मावि दिक्तेलका शिक्षक अव्दुल अहिम राईनको अन्दाजी ६२ हजार, उनकै घरमा कपडा पसल र होटल संचालन गरेर बसेका रमेश खत्रीको ३५ लाख ३० हजार र आँशिक क्षति भएका नविन गुरुङ र राजु श्रेष्ठको अन्दाजी ६ लाख क्षति भएको केसीको भनाई छ।

विहान करिव ३ बजेबाट उठेको आगो तीन घण्टापछि नियन्त्रणमा आएको थियो । बजारवासी, स्थानीय, नेपाली सेना, प्रहरी, सशत्र प्रहरीलगायतले आगो नियन्त्रणमा लिने प्रयास गरेपनि आगो नियन्त्रण भन्दा बाहिर गएपछि अन्तमा स्काईभेटेरको प्रयोग गरेर घर भत्काएपछि आगो नियन्त्रणमा आएको थियो।

तत्काल नियन्त्रण गर्ने विकल्पको रुपमा रहेको दम्कल यो नगरपालिका छैन। तत्कालिन दिक्तेल नगरपालिका हुँदा खरिद गरिएको दमकल विग्रिएर थन्किएको छ। बजारवासीले नगरपालिकालाई दैविक प्रकोप हुन सक्ने भनेर पटक–पटक अनुरोध गरेपनि नगरपालिकाले दमकलको व्यवस्था गर्ने चासो नदेखाउँदा बजारवासीले वर्षेनी ठुलो क्षति व्यहोर्दै आउँनु परेको छ।

बाक्लो बस्ती र जस्ताको छाना मात्र भएको दिक्तेलबजार आगो लागी भए जोगाउँने सम्भावना न्यून छ। तर, नगरपालिकाले दमकलको व्यवस्थापन गर्न नसक्नु नगरको ठुलो कमजोरी भएको भन्दै स्थानीय नगरपालिकासंग आक्रोशत बनेका छन्।

करिव २ वर्ष अघि बिद्युत सर्ट भएर सोहि स्थानमा आगलागी हुँदा तीन घर जलेर पूर्ण रुपमा नष्ट भएका थिए। सो वेला हिरालाल पुरीको घरमा बिद्युत सर्ट भएर लागेको आगोले छिमेकी केशव दाहाल र दानबहादुर मगरको घर पूर्ण रुपमा जलेर नष्ट भएको थियो। रविध्वज राई र हर्क बहादुर राईको घरको छाना फालेर अन्य घर जोगाइएको थियो।

यसैविच, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, जिल्ला दैविक प्रकोप उद्धार समिति, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा, खोटाङ उद्योग बाणिज्य संघले आगलागीबाट बिस्थापित दुई परिवारलाई राहत रकम प्रदान गरेको छ। पूर्णरुपमा घर जलेका विस्थापितलाई नगरपालिकाले ५०–५० हजार, जिल्ला प्रशासन कार्यालयले १५–१५ हजार, उद्योग बाणिज्य संघले १०–१० हजार र रेडक्रसले कम्मल १० थान, चार थान पाल लत्ता कपडा, भाँडाकुँडा प्रदान गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ