बैंकर्स संघको पूर्ण बैठक : पुरानै व्याजदरलाई निरन्तरता
अर्को साता फेरि बैठक
प्रकाशित २०७५ कार्तिक २५ आइतबार
262
Shares
काठमाडौं । नेपाल बैंकर्स संघको पूर्ण बैठक आईतबार काठमाडौंमा बसेको छ । बजारमा लगानी योग्य पुँजी अभाव भएपछि यस विषयमा छलफल गर्नको लागि बसेको बैठकले पुरानै निर्णयलाई निरन्तरता दिँदै फेरि अर्को साता बैठक बस्ने निर्णय पनि गरेको छ ।
राजधानीमा आईतबार बसेका बैंकका सिईओहरुको बैठकले दशैं अघि संघको पूर्ण बैठकले गरेको व्याजदर सम्बन्धी निर्णयलाई अर्को बैठक अघि सम्मको लागि निरन्तरता दिने निर्णय गरेको प्रभु बैंकका कार्यकारी अधिकृत अशोक शेरचनले जनाएका छन् । बैठक सोही विषयमा केन्द्रीत भएको भएपनि थप छलफल अर्को साता गर्ने गरी अहिले पुरानै विषयलाई स्वीकृति दिने निर्णय गरिएको उनले जानकारी दिए ।
यस अघि मुद्दति निक्षेपमा ११ प्रतिशत र वचतमा ८ प्रतिशत व्याजदर तोक्ने भद्र सहमति भएका बैंकहरुबीच गत असार अन्तिममा भएको बैठकले मुद्दति निक्षेपमा १० प्रतिशत र बचतमा ७ प्रतिशत व्याज दिने भद्र सहमती गरेका थिए । तर, सो सहमती पछि प्रभु बैंक र सिटिजन्स बैंकले ११ प्रतिशत मुद्दती निक्षेपमा व्याज लिएपछि दशै अघि फेरि बैंकर्स संघको पूर्ण बैठकले फेरि पनि १० प्रतिशत र ८ प्रतिशतलाई नै निरन्तरता दिने सहमति गरेको थियो ।
पछिल्लो समय बजारमा लगानी योग्य पुँजीको अभाव बढ्न थालेपछि यसको समाधानको लागि बैंकर्सहरु बैठकमा बसेका हुन् । उता नेपाल राष्ट्र बैंकले तोकेको कर्जा निक्षेप अनुपात ९सीसीडी रेसियो० मा पनि बैंकहरुको अवस्था ७५ प्रतिशत भन्दा माथि पुगेको छ । अधिकांश बैंकहरुको त यो दर ७९ प्रतिशत माथि नै पुगिसकेको छ । यस्तो स्थितीलाई नियन्त्रणको लागि पनि के गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल गर्ने एजेण्डा रहेको थियो ।