arrow

धनगढीमा निष्ट लिटल फ्लावर प्रिमियर लिग शुरु

logo
प्रकाशित २०७५ कार्तिक २८ बुधबार
cricket-nist.jpg

कैलाली । धनगढीमा निष्ट लिटल फ्लावर प्रिमियर लिग क्रिकेटको तेश्रो संस्करण सुरु भएको छ । मंगलबार धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृव बहादुर वडले प्रतियोगिताको उद्घाटन गरे । वडले क्रिकेटको शहरका रुपमा चिनिएको धनगढीमा खेल विकासका लागि उपमहानगर प्रतिबद्ध रहेको बताए । 

पहिलो दिन सम्पन्न दुई खेलमा सिद्धार्थ शिशु सदन र क्यास्पियन एकेडेमी विजयी भएका छन् । उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन सिद्धार्थ शिशु सदन विजयी भएको छ । निस्ट स्कुल काठमान्डौलाई डिफेन्डिङ च्याम्पियन सिद्धार्थ शिशु सदन धनगढीले ३ रनको झिनो अन्तरले पराजित गरेको हो ।

टस जितेर पहिलो ब्याटिङ गरेको सिद्धार्थले निर्धारित १० ओभरमा ५ विकेट गुमाउँदै ६३ रन बनाएको थियो । सिद्धार्थका लागि ओपनर गजेन्द्र बोहराले सर्वाधिक १८, सुरेन्द्र साउदले अविजित १५, र खडक बोहराले १४ रनको योगदान दिए ।

जितको लागि ६४ रनको विजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको निस्ट स्कुल काठमान्डौले निर्धारितत १० ओभरमा ३ विकेट गुमाउँदै मात्र ५९ रन जोड्न सफल भयो ।

निस्टको लागि ब्याटिङमा शिशिर केसिले सर्वाधीक १९ र कप्तान सोहन यादवले १४ रन जोडेपनी टिमलाई जित दिलाउन सकेनन । बलिङतर्फ सिद्धार्थका प्रकाश थापाले २ ओभरमा ६ रन खर्चंदै २ महत्त्वपूर्ण विकेट लिए । टिमका लागि उत्कृष्ट बलिङ गरेका प्रकाश थापा खेलको म्यान अफ द म्याच समेत घोषणा भए । 

मंगलबार भएको दोश्रो खेलमा क्यास्पियन एकेडेमी धनगढी विजयी भएको छ । क्यासपीएन एकेडेमीले शारदा उच्च मा।बि धनगढीलाई १४ रनले पराजित गरेको हो । 

क्यास्पियन एकेडेमीले जितको लागि दिएको १०२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको शारदा मा बि १६।३ ओभरमा मात्र ८७ रनमै समेटिएको थियो । 

शारदाको ब्याटिङमा दिपक टमटाले सर्वाधिक ३४ र राहुल भण्डारीले २२ रन बनाए पनि अन्य ब्याट्सम्यानहरुले दोहरो रनको स्कोर बनाउन सकेनन । बलिङतर्फ क्यास्पियनका रोशन अधिकारिले सर्वाधिक ६ विकेट लिएका थिए भने निराजन रावलले २ विकेट लिए । 

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको क्यास्पियन एकेडेमीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १०१ रन बनाएको थियो । ब्याटिङमा क्यास्पियनका दिनेश अधिकारीले सर्वाधिकधिक ३०, प्रकाश पाठकले २० तथा निर्शद बोगटीले १८ रनको योगदान दिएका थिए । 

४ ओभर बलिङ गर्दै २१ रन खर्चेर ६ विकेट लिएका क्यास्पियनका रोशन अधिकारि दोश्रो खेलका म्यान अफ द म्याच घोषणा भए । संस्कार क्रिकेट एकेडेमी धनगढीको आयोजना तथा निस्ट कलेज लैनचौर काठमाण्डौँको प्रायोजनमा प्रतियोगिता सञ्चालन भइरहेको हो । 

देश भरिबाट १२ टिमले सहभागिता जनाएको प्रतियोगिता अगामी मंसिर ४ गते सम्म संचालन हुनेछ ।

प्रतियोगितामा कैलालीका ६, कञ्चनपुरका २, बाँके, काठमाडौ र भत्तरपुरका १–१ गरि १२ वटा टिमको सहभागिता रहेको छ । सहभागी टोलीलाई विभिन्न ४ समुहमा राखेर प्रतिस्पर्धा गराईनेछ भने प्रत्येक समुहको विजेता टोली सेमीफाइनल खेल्नेछन् । 

सेमिफाइनल खेल मंसिर ३ गते हुनेछ भने फाईनल खेल मंसिर ४ गते हुनेछ । संघीय प्रहरी कार्यालयको खेल मैदामा जारी प्रतियोगितामा सहभागि टिमले सम्वन्धित विद्यालयका विद्यार्थी खेलाडी वाहेक ५ जना बाहिरबाट १९ बर्ष मुनिका खेलाडी पनि राख्न पाउनेछन् । 

प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ प्राप्त गर्नेछ । उपविजेताले ५५ हजार ५ सय ५५ नगदका साथै ट्रफी पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १० हजार, उत्कृष्ट व्याट्सम्यान, उत्कृष्ट वलर र उदयमान खेलाडीलाई नगद ५ हजार सहित ट्रफी प्रदान गरिने प्रतियोगिताका निर्देशक कलेन्द्र शाहीले बताए । 

प्रत्येक खेलको म्यान अफ द म्याच अन्तर्गत लिग चरणमा प्रति खेल नगद एक हजार, नकआउट चरणमा प्रति खेल नगद एक हजार ५ सय र फाईनलमा नगद २ हजार ट्रफी र प्रमाणपत्र पुरस्कार दिइने उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ