arrow

पाल्पाली समाज युएईद्धारा जिल्लाका ६० बिद्यालयमा अक्षयकोष स्थापना

logo
सीता डोटेल,
प्रकाशित २०७५ कार्तिक २८ बुधबार
palpa-samaj.jpg

पाल्पा । रोजगारका सिलसिलामा संयुक्त अरब इमिरेट्स (युएई) मा रहेका पाल्पालीहरुले जिल्लाको ६० बिद्यालयमा अक्षयकोष स्थापना गरेका छन् ।

 रोजगारको सिलसिलामा खाडी मुलुक युएई गएका पाल्पालीहरुले ४ बर्ष अघि स्थापना गरेको पाल्पाली समाज युएई नामक संस्थामा आफुहरुले कमाएको रकम जम्मा गरेर जिल्लाका ६० बिद्यालयमा अक्षयकोष स्थापना गरेको पाल्पाली समाज युएईका अध्यक्ष बेद प्रसाद अर्यालले बताए ।

 जिल्लाको पुर्नः संरचना अघि रहेको जिल्लाका ६० गाविसमा ‘‘एक गाविस एक बिद्यालयमा अक्षयकोष’’ नारा लिएर प्रति विद्यालय २५ हजारका दरले अक्षयकोष स्थापना गर्ने लक्ष्य समाजले पुरा गरेको हो ।  २०७३ साल भदौ १२ गतेदेखि पुर्वखोला गाउँपालिका वडा नम्बर १ सिलुवा तामाखानीमा रहेको अकला आधारभुत विद्यालयमा शुरु भएको अभियान तानसेन १३ बौघागुम्वा छेर्लुङ्गको राधाकृष्ण प्राविमा पुगेर समापन कार्यक्रम गरि जिल्लाका ६० विद्यालयमा अक्षयकोष स्थापना अभियानको समापन गरिएको विदामा नेपालमा रहेकी पाल्पाली समाज युएईका बरिष्ठ उपाध्यक्ष ओम कुमारी खाँणले बताइन् ।

 समाजका पदाधिकारी प्रतिनिधिहरु घर विदामा आउदा जिल्लाका ४० बिद्यालयमा पुगेर अक्षयकोष स्थापना गरिएको हो भने शिक्षा अधिकारीको रहोवरमा २० विद्यालयका अध्यक्ष, प्रध्यानाध्यापक र प्रतिनिधिहरुलाई तानसेनमा एक कार्यक्रम गरि अक्षयकोष वापतको रकम प्रदान गरि स्थापना गरिएको हो । यसरी समाजले जिल्लामा कुल १५ लाखको अक्षयकोष स्थापना गरेको हो । आफ्नो र परिवारका लागि कमाउन गएका पाल्पालीले यसरी जिल्लाको सामाजिक काममा सक्रिय बन्दै आएका छन्  ।
 
राज्यको भौगोलिक पुर्नसंरचना अघि पाल्पा जिल्लाका तानसेन र रामपुर नगरपालिका बाहेकका गाविसमा रहेका विद्यालयमा यो अक्षयकोष स्थापना गरिएको हो । पुर्न संरचना अघि भएका जिल्लाका ६० गाविसलाई आधार मानेर अभियान शुरु गरिएको थियो । पाल्पाका बिभिन्न ठाउँबाट युएई गएका युवाहरुले ती गाविसका आर्थिक स्रोत कम भएका दुरीका हिसावले टाढा रहेका आधारभुत तहको बिद्यालय छनौट गरि अक्षयकोष स्थापना गरेका हुन् । निमावि तथा आधारभुत तह नभएको खण्डमा प्राथमिक तहका बिद्यालयमा अक्षयकोष स्थापना गरेको समाजका उपाध्यक्ष गुम बहादुर रामजालीले बताए ।

अक्षयकोषको ब्याजको रकमले प्रत्येक बर्ष विद्यालयले गरिव विपन्न समुदायका बिद्यार्थी छनौट गरि शैक्षिक सामाग्री कापी, कलम, झोला तथा ड्रेस प्रदान गर्नेछ ।


 
युएईका ७ वटै क्षेत्रमा क्षेत्रिय समिति तथा केन्द्रिय समितिमा रहेका पाल्पालीहरुले ३ सय ६५ दिनमा एक दिन समाजलाई भन्ने कार्यक्रमबाट एक दिन बराबरको रकम उठाएर यो अभियानको थालनी गरेका हुन् । समय–समयमा पाल्पालीहरु भेला हुने र जिल्लाको सहयोगार्थ रकम उठाउदै उनीहरुले मातृभुमि प्रति बिभिन्न सहयोग गर्दै आएका छन् ।

 समाजले बैदेशिक रोजगारको सिलसिलामा युएईमा ज्यान गुमाएका पाल्पाली तथा अन्य जिल्लाका नेपालीलाई शब पठाउन पहल गर्ने, मृतकका परिवारलाई काजकिरिया गर्न रकम दिने तथा मृतकका साना बालबच्चालाई पढाईमा सहयोग गर्दै केही बालबालिकाको नाममा बैंङ्कमा रकम राखिदिएको छ ।

त्यस्तै समाजले केही दिन अघि अन्तराष्ट्रिय मान्यता प्राप्त युएईको डिस्कभरी रोयल स्पोर्ट एल.एल.सी.को सहकार्यमा प्राथमिक उपचार तालिम प्रदान गरेको थियो । त्यस्तै संस्था स्थापना भएको ८ दिनमा नै नेपालमा गएको २०७२ सालको भुकम्पमा परेका नेपालीलाई सहयोर्गा स्वरुप तत्कालिन समयमा नेपाल सरकारको भुकम्प राहत कोषमा ५८ हजार र पाल्पा भुकम्प राहत कोषका लागि तत्कालिन प्रमुख जिल्ला अधिकारीलाई नगद ६ लाख १ हजार ११ रुपँया हस्तान्तरण गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ