बढ्यो अखाद्य बस्तुको कारोबार, किन उदास सम्बन्धित निकाय
केशब भट्ट
प्रकाशित २०७५ मंसिर २ आइतबार
169
Shares
बेलौरी । कञ्चनपुरको दक्षिणी सीमान्त क्षेत्रका बेलौरी लगायत आसपासका बजारहरुमा अखाद्य तथा म्याद समाप्त भएका भारतीय खाद्यपदार्थ विक्री वितरण भइरहे पनि नियमनकारी निकायको उदासिनतका कारण स्थानिय उपभोक्ताहरुको स्वास्थ्यमा प्रतिकुल असर परिरहेको छ ।
भारतीय सीमा संग जोडिएका बेलौरी, पुनर्वास र बेलडाँडी लगायतका बजारहरुमा अबैधरुपमा चोरीपैठारी भएका म्याद सकिएका अखाद्य पदार्थहरुको निर्वाध बिक्री वितरण हुँदै आएको छ ।
दक्षिणी सिमान्त यस क्षेत्रका अधिकांश पसलहरुमा म्याद समाप्त भएका भारतीय समानहरु पाइने गरेका छन् । भारतीय बजारवाट चोरीपैठारीका बिस्कुट , नमकीन, जङ्कफुड, तोरीको तेल जस्तो देखिने अखाद्य तेल, पेय पदार्थ लगायतका बस्तुहरुको निर्वाध बिक्रीवितरण बढिरहेको छ ।
अखाद्य बस्तुहरुको बिक्रीवितरणमा रोक लगाउने जिम्मेवारी पाएका निकायहरुको उदासिनताका कारण बेलौरी र आसपासका सीमा क्षेत्रका नेपाली बजारमा गुणस्तरहीन भारतीय बस्तुको बिक्रीवितरण खुलेयाम भइ रहेको छ ।
अखाद्य बस्तुहरुको बिक्रीवितरण नियन्त्रण गर्न प्रशासनले बजार अनुगमन र निगरानी नगरेकै कारण बजारमा खुलेयाम बिक्री वितरणमा आएका यस्ता अखाद्य पदार्थबाट उपभोक्तामा असर पर्न गएको छ ।
बेलौरी बजार कञ्चनपुरकै दोस्रो ठुलो बजार रहेको भएता पनि बजारमा विक्री वितरण भइरहेका खाद्य पदार्थका वारेमा बजार अनुगमन गर्न स्थानिय सरकार तथा सम्बधित निकायकोे पनि ध्यान गएको छैन ।
यसरी अवैध रुपमा विक्री विरतरण भइरहेका वस्तुको प्रयोगले बिरामीको सङ्ख्यामा वृद्धि गरेको छ । प्रायजसो बच्चाहरुले प्रयोग गर्ने जङ्कफुडहरु सस्तो मुल्यमा नेपाली बजारमा आउने गरेकाले उपभोत्ताले त्यही प्रयोग गर्ने गरेको बेलौरी बजारका केही व्यापारीहरु बताउँछन् ।
बेलौरी बजार स्थानिय बजार भएकाले पनि यहाँका पसलमा समान किन्दा मिति हेर्न ध्यान जान नसकेको र कोही त अशिक्षाका कारणले पनि हेर्न नसकेको बताउन्छन । यी विषयमा निगरानी राख्न यहाँको जनताले सम्वधित निकायलाई ध्यानाकर्षण गराउनु जरुरी देखिएको छ ।