शिक्षण अस्पतालको निर्देशकमा तीनजना सिफारिश, कसरी छानिए ती ?
शीर्ष १० मा को थिए ? कसको नाम काटियो ? कसले इच्छा नै देखाएनन् ?
प्रकाशित २०७५ मंसिर ३ सोमबार
856
Shares
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको नयाँ निर्देशक पदमा वरिष्ठताका आधारमा अस्पतालमा सेवारत तीनजना चिकित्सकको नाम सिफारिश गरिएको छ ।
अस्पतालका तत्कालीन निर्देशक प्रा डा दीपक महराले आफ्नो कार्यकाल समाप्त भई पदबाट राजिनामा दिएपछि सो पद रिक्त रहेको थियो ।
निर्देशक छनोट समितिको आइतबार यहाँ बसेको बैठकले प्रा डा प्रेम खड्का, प्रा डा वाइपी सिंह र प्रा डा सुशील शिल्पकारलाई नाम सिफारिस गरेको बताइएको छ ।
त्रिविवि, चिकित्साशास्त्र अध्ययन संस्थानका डिन प्रा डा जगदिश अग्रवाल संयोजक रहेको निर्देशक सिफारिस समिति गठन भएको थियो । सो समितिमा प्रा डा प्रदीप ज्ञवाली र प्रा डा अभिमन्यु झा रहेका थिए । त्रिविवि कार्यकारी बैठकले सिफारिसमध्ये एक जनालाई चयन गर्ने छ ।
सहमतिका आधारमा तीन जनाको नाम सिफारिस गरिएको निर्देशक चयन समितिका एक सदस्यले जानकारी दिए ।
शीर्ष १० मा को थिए ? कसको नाम काटियो ? कसले इच्छा नै देखाएनन् ?
छनोट समितिका एक सदस्यका अनुसार बरिष्ठताको पहिलो नम्बरमा प्राडा गीता सायमी, दोस्रो नम्बरमा प्राडा ज्योति शर्मा बराल, तेस्रो नम्बरमा प्रेम खड्का र चौथो नम्बरमा प्राडा योगेन्द्रप्रसाद सिंह परेका थिए । त्यस्तै प्राडा सुनील चन्द्र झा, प्राडा मिता सिंह, प्राडा सुशील सिल्पकार, प्राडा प्रदीपकृष्ण श्रेष्ठ, प्राडा प्रदीप बैद्य, प्राडा तुलसी कंडेल रहेका थिए ।
ती मध्ये प्राडा सायमी र प्राडा शर्माले निर्देशक बन्न अनिच्छुक भएपछि तेस्रो नम्बरका प्राडा खड्का, चौथो नम्बरका सिंहको नाम आएको हो । पाँचौँ र छैटौँमा रहेका प्राडा झा र प्राडा सिंह पनि अनिच्छुक देखिएपछि प्राडा सिल्पकार सूचीमा परेका हुन् ।
ती सदस्यले भने, ‘डा गोविन्द केसीको माग पनि बरिष्ठताको आधारमा होस् भन्ने नै हो । हामीले त्यही गर्यौं । यसमा पूर्व पदाधिकारीहरुलाई समावेश गरेनौँ । नयाँलाई अवसर दिन खोज्यौँ । प्राध्यापक हुँदा जो सिनियर छ त्यसैको आधारमा यो सूची तयार भएको हो ।’
अघिल्लो पटक चर्चामा यसपटक गुमनाम
अघिल्लो छनोट समितिले नाम सिफारिस गर्ने बेलामा प्राडा वाईपी सिंह, प्राडा ईश्वर लोहनी, प्राडा दिनेश काफ्ले, प्राडा प्रदीप बैद्य लगायतका नाम चर्चामा थिए ।
यसपटक प्राडा लोहनी र प्राडा काफ्लेको नाम छलफलको सूचीमै परेन । ‘हामीले अरु हेरिएन सिनियारिटी मात्रै खोजियो । त्यसमा उहाँहरुको रोलक्रम अलि तल रहेछ । त्यसैले उहाँहरु पर्नु भएन,’ ती सदस्यले भने ।
गत ४ साउन देखि लागू हुने गरी तत्कालिन निर्देशक प्राडा दीपक महराले राजिनामा दिएपछि अहिले निमित्त निर्देशकको जिम्मेवारी सहायक डीन मन्दिरा वन्तले पाएकी छन् ।
चिकित्सा विज्ञानको अध्ययन अध्यापनमा संस्थान दक्षिण एशियामा नै अब्बल रहेको छ ।