काठमाडौं। भक्तपुर स्थित सल्लाघारीको खुल्ला मैदानमा तीन दिने निर्माण उपकरण तथा प्रविधि प्रदर्शनी हुने भएको छ। मंसिर ६ देखि ८ सम्म संरचना निर्माणका सामग्रीहरु र प्रविधिको प्रदर्शन (कोन्म्याक २०१८) सुरु हुने भएको हो।
भारतीय दूतावासको सहयोगमा भारतीय उद्योग महासंघ (सीआईआई) सँगको सहकार्यमा यो प्रदर्शनी आयोजना गर्न लागेको दूतावासबाट जारी विज्ञत्तिमा उल्लेख छ।
यो प्रदर्शनीमा १५० व्यावसायिक प्रदर्शकहरुले आफ्नो उत्पादनहरुको प्रदर्शन गर्नेछन्। यो प्रदर्शनीमा ४ हजारभन्दा बढी व्यावसायिक अवलोकनाकर्ताहरुले यो प्रदर्शनीको भ्रमण गर्ने अनुमान आयोजकको रहेको छ। भौतिक पूर्वाधार निर्माण तथा यातायात मन्त्री रघुवीर महाहसेठले यो प्रदर्शनीको अवलोकन गर्नेछन्। यो प्रदर्शनीमा नेपालका लागि भारतीय राजूदत मञ्जीव सिंह पुरी मुख्य अतिथिको रुपमा रहनेछन्।
नेपाली र भारतीय संरचना निर्माणको व्यापारका अग्रणी, व्यापार संघ र सरकारका अधिकारीहरु पनि यो सम्मेलनमा अतिथि रहने बताइएको छ। यसले दुई मुलुकको संरचना निर्माणको सम्बन्धलाई थप उचाइमा पुर्याउने विश्वास आयोजकले व्यक्त गरेको छ।