काठमाडौंमा आइटेक तथा मौलाना आजाद दिवस भव्यपूर्वक मनाइयो
प्रकाशित २०७५ मंसिर ६ बिहिबार
293
Shares
काठमाडौं। भारतीय प्राविधिक तथा आर्थिक सहकार्य (आइटेक) तथा मौलाना आजाद दिवस मनाइएको छ। काठमाडौँस्थित भारतीय दूतावासले बिहीबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको प्रमुख आतिथ्यमा होटल हयातमा उक्त दिवस मनाएको हो।
कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीले नेपाल सरकारका विभिन्न मन्त्रालय तथा विभागका वरिष्ठ अधिकारी तथा कर्मचारीहरुलाई भारतका प्रमुख संस्थाहरुमार्फत प्रशिक्षण प्रदान गरेर आइटेक कार्यक्रमले नेपालमा मानवस्रोत विकासको प्रवर्धनमा उल्लेख्य भूमिका निर्वाह गरेको बताए।
आफ्ना कर्मचारीहरुको प्रशिक्षण तथा मानवस्रोत विकासका लागि आइटेक कार्यक्रमको लाभ लिएका विभिन्न मन्त्रालय तथा विभागहरुका वरिष्ठ सचिवहरु तथा अधिकारीहरुले पनि उक्त समारोहमा सहभागीता जनाएका थिए। समारोहमा आइटेक कार्यक्रमका करिब १५० जना सहभागीहरुको उपस्थिति रहेको थियो।
यस्तो गरियो आइटेक दिवसमा
आइटेक दिवसको अवसरमा भारतको पहिलो शिक्षामन्त्रीको रुपमा इन्डियन इन्स्टिच्युट्स अफ टेक्नोलोजी तथा युनिभर्सिटी ग्रान्ट्स कमिशनको स्थापनामा अग्रणि भूमिका निर्वाह गरेका भारत रत्न मौलाना अब्दुल कलाम आजादको १३० औं जन्म जयन्ती पनि मनाइयो।
यस अवसरमा स्वामी विवेकानन्द संस्कृतिक केन्द्र, काठमाडौँका विद्यार्थीले आकर्षक सांस्कृतिक प्रस्तुति दिएका थिए। नेपालसहित विश्वका १६१ विकासशील मित्र राष्ट्रसँग विकासबारे आफ्ना अनुभवहरु साझा गर्नका लागि भारत सरकारको पूर्ण अनुदानमा आइटेक कार्यक्रम सञ्चालन गरिएको हो।
यस्तो प्रशिक्षण दिइन्छ आइटेक कार्यक्रममा
आइटेक कार्यक्रम अन्तर्गत कम्प्युटर इन्जिनियरिंग, सूचना प्रविधि, पत्रकारिता, बैंकिंग, कानून निर्माण, उर्जा, रिमोट सेन्सिंग, मानवशक्ति अध्ययन, शिक्षा, महिला सशक्तिकरण, जलविज्ञान, व्यापार योजना तथा प्रवद्र्धन, लेखा तथा वाणिज्यलगायतका विद्याहरुमा प्रशिक्षण दिने गरिन्छ।
नेपालका दर्जनौं जलस्रोत विज्ञहरु सिंचाई, जल व्यवस्थापन तथा जलस्रोत विकास विषयमा एम टेक तथा पीजी डिप्लोमा तहमा आइआइटी रूर्कीजस्तो प्रतिष्ठित संस्थामा अध्ययन गरिरहेका छन्।
आइटेक कार्यक्रम अन्तर्गतका अल्पकालीन, मध्यमकालीन तथा दीर्घकालीन व्यावसायिक प्रशिक्षण कार्यक्रमहरुमा हालसम्म १३५३ जना सहभागी भइसकेका छन्।