कास्की। गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले आर्थिक परनिर्भरताका कारण महिलामाथि हिंसा बढेको बताएका छन्। महिला हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पुनले महिला आर्थिक रूपमा सवल र सक्षम नभएसम्म हिंसा नरोकिने बताएका हुन्। उनले भने, “महिला आर्थिक रूपमा परनिर्भर भएकै कारणले विभिन्न शारीरिक र मानसिक हिंसाको चपेटामा परेका छन्।
उनीहरुको आर्थिक सवलीकरणका लागि व्यावसायिक तालीम जरुरी छ।” उनले तालीमका लागि तालीम नभई जीवनस्तरमा परिवर्तन ल्याउने खालको तालीम सञ्चालन गर्ने तयारी भइहेको बताए। स्वरोजगार मोबाइल एप्सबाट कस्तो तालीम आवश्यक भन्ने बारेमा सर्भे गरिरहेको उनले जानकारी दिए। उनले सामाजिक विकास मन्त्रालयमा रु चार करोड ३२ लाख स्वरोजगार कार्यक्रमका लागि बजेट रहेको जानकारी दिए।