arrow

मनाङ फेरि शीर्ष स्थानमा उक्लियो, सरस्वती पनि चढ्यो माथि

logo
प्रकाशित २०७५ मंसिर ११ मंगलबार
mmc-apf.jpg

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलको आफ्नो चौथो खेलमा मनाङ मर्स्याङदी क्लबले नेपाल एपीएफ क्लबलाई २–१ ले पराजित गरेको छ । यो जितसँगै मनाङ फेरि अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

खेलको १९ औं मिनेटमा मनाङले सुरुवाती अग्रता बनायो । आडेलाजा सोमिडेले विमल रानामगरसँग पेनाल्टी क्षेत्रबाहिर वन टु पास खेल्दै सुन्दर गोल गरे । 

एपीएफले २५ औं मिनेटमा गोल गर्ने सुन्दर अवसर गुमायो । त्यसको दुई मिनेटमै एपीएफले पेनाल्टी पायो । नवीन लामाको फ्रिकिक प्रहार पेनाल्टी क्षेत्रभित्र डिफेन्डर मोहमद आसिफको हातमा लागेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । नवीनले उक्त पेनाल्टीलाई गोलमा परिणत गर्दै खेल बराबरीमा ल्याए ।

खेलको ४४ औं मिनेटमा मनाङले पनि पेनाल्टी पायो । कमल श्रेष्ठको क्रस सन्तोष कटवालको हातमा लागेपछि प्राप्त पेनाल्टीमा अन्जन विष्टले गोल गरे । पहिलो हाफमा मनाङले २–१ को अग्रता लियो ।

दोस्रो हाफको सुरुवातमै एपीएफले बराबरी गर्ने मौका गुमायो । अन्ततः मनाङले जित्यो । यस जितसँगै मनाङले लिगमा शत्प्रतिशत जितको रेकर्डलाई कायम राखेको छ । 

मनाङ ४ खेलमा १२ अंकसहित शीर्ष स्थानमा २ अंकको अग्रता कायम गर्न सफल भएको छ । दोस्रो स्थानको त्रिभुवन आर्मीले ४ खेलमा १० अंक जोडेको छ । तेस्रो स्थानको थ्री स्टारको ९ अंक छ । 

मंगलबारको पहिलो खेलमा सरस्वती युवा क्लबले ब्रिगेड ब्वाइज क्लबलाई पराजित गरेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मैदानमा भएको खेलमा सरस्वतीले ब्रिगेड व्वाइजलाई २–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । सरस्वतीको जीतमा विनोद केसी र विदेशी खेलाडी फान्सिस ओकेछुक्वु ओन्यमले एक एक गोल गरे ।

खेल शुरुवातीको तेस्रो मिनेटमा नै सरस्वतीका विनोदले गोल गर्दै पहिलो अग्रता लिए । उनले कप्तान दीपेश श्रेष्ठको पासमा गोल गरेका थिए । तर त्यो सरस्वतीको पहिलो अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको सातौँ मिनेटमा नै ब्रिगेड ब्वाइजका अब्दुल करीम हामोदले एक गोल फर्काउँदै खेललाई एक एक गोलको बराबरीमा ल्याए । उनले काजिमले दिएको पासलाई गोलमा परिणत गरेका थिए ।

खेलको दोस्रो हाफमा सरस्वतीले पुनः एक गोल थप्यो । खेलको ५२ औँ मिनेटमा भिक्टरको क्रसलाई सदुपयोग गर्दै फ्रान्सिसले हेडमार्फत गोल गरे । सरस्वतीका सुमन लामा म्यान अफ दि म्याच घोािषत भए । यो जितसँगै सरस्वतीले चार खेलमा ६ अङ्क जोड्दै अङ्क तालिकाको सातौं स्थानमा उक्लेको छ । यता समान चार खेल खेलेको ब्रिगेड ब्वाइज १ जित र ३ हारसहित ३ अङ्कका साथ लिगको एघारौं स्थानमा छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ