मौद्रिक नीति समीक्षा : तरलता प्रशोचन बढ्दा पनि बैंकहरुले लगानी गर्न पाएनन्
प्रकाशित २०७५ मंसिर १२ बुधबार
167
Shares
काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७५।७६ को मौद्रिक नीतिमा त्रैमासिक समीक्षा गरेको छ । समीक्षा अवधिमा बैंकहरुको तरलता प्रशोचन २०७५ असार मसान्तको भन्दा बढेको छ । तर, बजारमा लगानी योग्य पुँजीको भने अभाव रहँदै आएको छ ।
नेपाल राष्ट्र बैंकले परिमार्जित ब्याजदर करिडोर लागू गरेपछि सो अन्तर्गत २०७५ असार २६ गतेसम्म पटक–पटक गरी ५ प्रतिशत रिपो दरमा रु. ६९ अर्ब ७२ करोड तरलता प्रवाह गरेको थियो भने ३ प्रतिशत निक्षेप संकलन दरमा रु. ३८ अर्ब १५ करोड तरलता प्रशोचन गरेको थियो । यसरी पछिल्लो स्थितीमा तरलता प्रशोचन बढेको भएपनि लगानी योग्य पुँजीको भने अभाव देखिँदै आएको छ ।
तरलता प्रशोचन भनेको कुनैपनि बैंकिङ प्रणालीमा रहेको कूल रकम हो । जुन अहिले सबै बैंक तथा वित्तीय संस्थाहरुमा गरी कूल ९५ अर्ब ३५ करोड रहेको छ । यो रकम ऋण दिन भने मिल्दैन । जसले लगानी योग्य पुँजीको अभावलार्इ सुल्झाउन नसकेको हो ।
अघिल्लो वर्षको सोही अवधिमा रु. ११५ अर्ब ४० करोड तरलता प्रशोचन गरिएको थियो । समीक्षा अवधिमा रु. ३ अर्ब ४२ करोड स्थायी तरलता सुविधा उपयोग भएको छ । अघिल्लो वर्षको सोही अवधिमा रु. ३० करोड स्थायी तरलता सुविधा उपयोग भएको थियो ।
नेपाल राष्ट्र बैंकले अहिले बैंकहरुको सिसिडी रेसियो ८० प्रतिशत तोकेको छ । जस अनुसार बैंकहरुले सामान्यतया कूल निक्षेपको ८० प्रतिशत मात्रै लगानी गर्न पाउँछन् । बाँकी रहेको २० प्रतिशत पनि बैंकहरुमा प्रवाह हुने पैसा हो । तर, यो निक्षेप लगानी गर्न भने मिल्दैन । जसका कारण अहिले तरलता बढ्दा पनि बैंकहरुले लगानी गर्न नपाएका हुन् ।
नेपाल राष्ट्र बैंकले सिआरआर घटाएको कारणले यो वर्ष बैंकमा पैसा धेरै हुँदा पनि लगानी गर्न नसक्ने अवस्था भएको हो । सिआरआर अन्तर्गत् कूल निक्षेपको फाइनान्सले ५ प्रतिशत नेपाल राष्ट्र बैंकमा राख्नुपर्ने हुन्छ । त्यस्तै, विकास बैंकहरुले साढे ४ प्रतिशत र वाणिज्य बैंकहरुले कूल निक्षेपको ४ प्रतिशत राष्ट्र बैंकमा राख्नुपर्ने हुन्छ । जुन दर अघिल्लो आर्थिक वर्षसम्म क्रमशः ६ प्रतिशत, साढे ५ प्रतिशत र ५ प्रतिशत रहेको थियो । यसैले गर्दा पनि बैंकहरुको तरलता प्रशोचन बढेपनि सिसिडी रेसियोका कारण लगानी गर्न सक्ने स्थिती नरहेको हो ।
स्थिर विनिमय दर पद्धति अवलम्बन गरिएको विद्यमान सन्दर्भमा विदेशी विनिमय हस्तक्षेप तरलता व्यवस्थापनको प्रमुख औजारको रुपमा रहँदै आएको छ । समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजारबाट अमेरिकी डलर ६९ करोड ९१ लाख खुद खरिद गरी रु. ८० अर्ब ७५ करोड बराबरको खुद तरलता प्रवाह गरेको छ । त्यसैगरी, समीक्षा अवधिमा अमेरिकी डलर १ अर्ब २ करोड, युरो १ करोड ६० लाख, पाउण्ड स्टर्लिङ्ग २ करोड र जापानिज येन १० अर्ब बिक्री गरी रु. १२० अर्ब ९१ करोड बराबरको भा.रु. खरिद भएको छ ।