arrow

महिला साफ च्याम्पियनशीप विराटनगरमा

logo
प्रकाशित २०७५ मंसिर १३ बिहिबार
mahila-football1.png

काठमाडौँ । नेपालले पाँचौँ महिला साफ च्याम्पियनशीप फुटबल प्रतियोगिता फागुन २८ देखि चैत ८ गतेसम्म मोरङको विराटनगरमा गर्ने निर्णय गरेको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) पदाधिकारीको आज बसेको बैठकले उक्त निर्णय गरेको हो ।

एन्फा प्रवक्ता किरण राईका अनुसार सो प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, भूटान, माल्दिभ्स, श्रीलङ्का र बङ्गलादेशको सहभागिता रहनेछ । गत महीना दक्षिण एशियाली फुटबल महासङ्घको बैठकले साफको आगामी संस्करण नेपालमा गर्ने निर्णय गरेको थियो ।

यसअघि उक्त प्रतियोगिता आयोजनाको जिम्मा श्रीलङ्कालाई दिइएको थियो । श्रीलङ्काले आयोजना गर्न नसक्ने जनाएपछि साफ प्रतियोगिता निर्धारित समयभन्दा एक महिना पछि सारेर नेपालमा हुन लागेको प्रवक्ता राईले बताए । यसअघि सो प्रतियोगिता पुस २ गतेदेखि श्रीलङ्कमा गर्ने गरी खेलतालिका सार्वजनिक गरिएको थियो । नेपाली महिला टोली हरि खड्काको प्रशिक्षण तथा निरु थापाको कप्तानीमा रहेको छ । सो प्रतियोगितामा नेपाल उपविजेतासम्म बनेको छ ।

राष्ट्रिय खेलकूदका लागि खेलाडी छनोट

प्रदेश नं ५ मा माघ २५ गतेदेखि हुने आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत जिल्ला छनोट शुक्रबारदेखि शुरु हुने भएको छ । उक्त छनोट ७७ जिल्लामा मङ्सिर १४ देखि २१ गतेसम्म सञ्चालन हुने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता तयारी सचिवालयका प्रमुख इन्द्रबहादुर कार्कीले जानकारी दिए ।

आठौँ राष्ट्रिय खेलकूदमा समावेश ३५ खेलमध्ये २० खेलको जिल्ला छनोट शुक्रबारदेखि हुनेछ । बक्सिङ, भारोत्तोलन, क्रिकेट, बास्केटबल र ह्याण्डबलको महिला जिल्ला छनोट भने हुने छैन । यी पाँच खेलको भने सिधै प्रदेश छनोट सञ्चालन गरिने उनले जानकारी दिए । जिल्ला छनोटमा ३१ हजार ८४५ खेलाडीले सहभागिताका लागि नाम दर्ता गराएका छन् ।

यही मङ्सिरमा आयोजना गर्नेगरी तय भएको आठौँ राष्ट्रिय खेलकूद पूर्वाधार अभावका कारण दुई महीना सारेको हो । गत महीना नुवाकोटको ककनीमा बसेको परिषद्को बोर्ड बैठकले मङ्सिर ८ गतेदेखि नेपालगञ्ज रङ्गशालामा उद्घाटन गरी बाँके, बर्दिया, दाङ र रुपन्देहीका विभिन्न स्थानमा आयोजना गर्ने तय गरेको थियो । परिषद्ले पछि सो प्रतियोगिता माघ २५ देखि फागुन १ गतेसम्म गर्ने गरी मिति तय गरेको हो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ