सेनालाई सांसद्हरुको प्रश्न : डिपिआर नै तयार नपारी काम किन ?
प्रकाशित २०७५ मंसिर १४ शुक्रबार
155
Shares
काठमाडौं । नेपाली सेनाले बनाईरहेको फास्ट ट्याकको काम चलिरहेको भएपनि डिपिआर तयार नभई गरिएको भन्दै नेपाली सेनामाथि सांसद्हरुले प्रश्न उठाएका छन् । सोमबार फास्ट ट्याक निर्माणको विषयमा छलफल गर्नको लागि प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले बोलाएको बैठकमा बोल्ने सांसद्हरुले यस्तो प्रश्न उठाएका हुन् ।
नेपाली सेनाले संसद्मा प्रस्तुत गरेको विवरण अनुसार २०७५ साल ६ महिना १६ गते दक्षिण कोरीयाली कम्पनी सोसुङ इन्जिनियरिङ एण्ड कन्सल्टिङ लिमिटेडलाई कूल १० करोड १२ लाख रुपैयाँमा ४ महिनामा काम सम्पन्न गर्ने गरी गरी डिपिआरको जिम्मा दिएको छ । यस अघि आईएल एण्ड एफएसले तयार पारेको डिपिआर प्राविधिक रुपमा आंशिक मात्र प्रयोग हुने । आर्थिक रुपमा पनि मनासिव नदेखिएको र उपयोगिताको आधारमा खरिद हुन नसकेको भन्दै नयाँ डिपिआरको काम सुरु गरेको जनाईएको छ ।
तर डिपिआर तयार नहुँदै सेनाले आडवटा क्याम्पहरु विभिन्न स्थानमा खडा गरेर १० हजार ४ सय ६६ रोपनी जग्गा खरीद समेत गरी १९ हजार ६ सय १९ वटा रुख पनि काटिसकेको छ । १४ वटा बेलिब्रिजको खरिद जस्ता कामहरु सम्पन्न गरिसकेको छ । सेनाको यो रिपोर्ट प्रति असन्तुष्टि व्यक्त गर्दै सांसद् गणेश पहाडीले कटिङ र फिडिङमा सेनाले मनपरी गरेको आरोप लगाएका छन् । रुख कटानमा मनपरी गरेको पहाड फोर्ने क्रममा सबै माटाहरुलाई नदीमा फालेको जस्ता आरोप लगाएका छन् । यसले नदि प्रदुषण हुने तर्क पनि उनको थियो । उनले डिपिआर तयार नगरी सेनाले काम सुरु गरेको मा असहमति जनाउँदै यो काम सेनाले पहिले नै गर्नुपर्ने प्रतिक्रिया दिए ।
त्यस्तै, सांसद् जीप छिरिङ लामाले सेनाले जिम्मा लिएको यो काम समयमा हुन्छ कि हुन्न भन्नेमा आशंका रहेको प्रतिक्रिा दिएइ । उनले कटिङको क्रममा सेनाले भर्टिकल डिजाईनिङ गरेको भन्दै उनले यस्तो डिजाईनको कारण पहिरोको सम्भावना रहेको प्रतिक्रिया दिए । उपस्थित अन्य सांसद्हरुले पनि सेनाले डिपिआर तयार नपारी काम सुरु गर्दा डिपिआरको रिपोर्ट प्रतिकूल आयो भने के हुन्छ ? भनेर प्रश्न गरेका थिए ।