arrow

नेपाली क्रिकेट: एउटै सन्दीपबाट खुसी हुने कि अरु पनि खोज्ने ?

ठूला आश्वासनहरु बाँड्ने तर कार्यान्वयनमा सधैं शून्य

logo
हाम्राकुरा डेस्क,
प्रकाशित २०७५ मंसिर १५ शनिबार
Cricket_Nepali_team.jpg

काठमाडौं। नेपाली क्रिकेटको कुरा गर्दा सन्दीप लामिछाने विश्वले चिन्ने नाम भएको छ। नेपालका लेग स्पिनर सन्दीपले अन्तर्राष्ट्रिय व्यावसायिक क्रिकेटमा एक पछि अर्को सफलता प्राप्त गर्दैछन्। नेपाली क्रिकेट प्रेमीले गर्वका साथ लिन सक्ने नाम बनेका छन् – सन्दीप । 

नेपाली क्रिकेटमा योगदानको कुरा गर्ने हो भने पारस खड्काको नाम स्वर्ण अक्षरले लेखिनेछ। उनले मैदानभित्र र बाहिर गरेको प्रदर्शनहरुले नेपाली क्रिकेट अहिलेको स्थितिमा आइपुगेको हो। यसमा सायद कसैले दुईमत नराख्ला। 

यसैगरी नेपाली क्रिकेटमा योगदान दिएका खेलाडीहरुमा पवन अग्रवाल, राजु खड्का, विनोद दास, शक्ति गौचनलगायतलाई पनि बिर्सन सकिँदैन । अहिले नेपाली टोलीमा रहेका ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, सोमपाल कामी, बसन्त रेग्मीलगायतका खेलाडीको योगदान पनि अतुलनीय छ। 

स्वदेशभित्र क्रिकेटलाई फैलाउन मदत गरेका खेलाडीहरुलाई सम्भवत राज्यले बिर्सिने छैन भन्ने आशा गर्न सकिन्छ तर क्रिकेट प्रेमीको मनबाट त कहिल्यै ती नामहरु हट्ने छैनन् भन्ने विश्वास लिन सकिन्छ । 

माथि नाम उल्लेखित खेलाडीहरुको योगदानले नै नेपालले अन्तर्राष्ट्रिय एकदिवसीय खेलको मान्यता पाएको छ भने सन्दीप टि–२० फरम्याटमा विश्वका प्रमुख व्यावसायिक लिगहरु खेलिरहेका छन्। 

सन्दीपजस्ता प्रतिभाहरु अरु पनि होलान् देशभरी तर तिनीहरुलाई खोज्न र बाहिर ल्याउन राज्यले लगानी गर्नु पर्ने हुन्छ। राज्यले नेपाली क्रिकेटको सफलतामा  जहिले पनि ठूला आश्वासनहरु बाँड्ने तर कार्यान्वयनमा सधैं शून्यको स्थिति छ । 

लामो समयदेखि सफलता पाइरहेको नेपाली क्रिकेटलाई विभिन्न सरकारले अनेक सपना बाँडे तर पूरा कुनै भएका छैनन्। 

के गर्न सकिन्छ ? 
नेपाली क्रिकेटको विकासका लागि धेरै अवधारणाहरु अगाडि सारिएका छन्। सबैभन्दा धेरै दोहोरिने शब्द ‘पूर्वाधार’ हो। पूर्वाधारको कुरा आउँदा सुविधासम्पन्न क्रिकेट स्टेडियमको कुरा अत्यधिक हुने गर्छ । साथै अरु भौतिक सुविधाका कुराहरु पनि प्रशस्त सुनिन्छ। 

क्रिकेट खेल्न सबैभन्दा बलियो पूर्वाधार क्रिकेट खेल्न जान्ने वा क्रिकेट मन पराउने मानव संशाधनको कुराहरु खासै चर्चा गरिँदैन। त्यसो त राम्रो स्टेडियम, नियमित प्रतियोगिता हुन थाले राम्रा खेलाडीहरुले मौका पाउनेछन् भन्ने कुरा पनि आउला तर एउटा खेलको व्यावसायिक विकास गर्न विद्यार्थी एवं किशोर–किशोरीहरुलाई जति आकर्षित गर्न सकियो त्यति नै द्रुतगतिमा उक्त खेलले प्रगतिको बाटो समात्छ।  त्यसैले किशोर–किशोरीहरुलाई आकर्षित गर्ने सके र खेल्ने मौका दिनसके नेपाली क्रिकेटलाई अगाडि बढ्नबाट कसैले रोक्न सक्दैन।

सन्दीपहरु जन्माउनका लागि राज्यले लगानी गर्नुपर्छ । किशोर अवस्थाका खेलाडीहरुलाई खेल्ने वातावरण दिने एवं राष्ट्रिय क्रिकेट प्रतियोगिता कम्तीमा तीन दिने क्रिकेटको शुरुवात गर्नु पर्ने हुन्छ । लामो फरम्याटको क्रिकेटमा खेलाडीहरुको शारीरिक एवं मानसिक क्षमताको राम्रो परीक्षण हुने गर्छ । लामो फरम्याटमा राम्रो प्रदर्शन गर्ने खेलाडीहरुले सानो फरम्याटको खेलहरुमा आफूलाई सजिलै ढाल्न सक्छन्। 

नेपालका कप्तान पारस खड्काले बारम्बार दोहो‍र्‍याउने गरेका छन् कि नेपालको अबको लक्ष्य टेष्ट मान्यता पाउनु हो । समय लाग्ला तर टेष्ट मान्यताका लागि नेपालले अहिलेदेखि आफ्नो तयारी शुरु गर्नुपर्ने हुन्छ।  पाँच दिवसीय क्रिकेट खेल्न कम्तीमा घरेलु क्रिकेट ३ वा ४ दिवसीय खेल हुनैपर्छ । 
 
कसरी गर्ने ?
नेपाली क्रिकेटले जहिले पनि सफलता पाउँदा नेपाल सरकारको नेतृत्व विभिन्न राजनीतिक दलले गरेका छन्। सबैले तारिफ र यसको विकासका लागि ठोस कदम चाल्ने पनि भन्छन् तर नतिजा दिलाउन महत्वपूर्ण भूमिका खेल्ने क्यान नै मुर्छित छ। 
 
नेपालका सबै दलहरु क्रिकेट विकासप्रति प्रतिबद्ध छन् भने सरकारले आफ्नो क्रिकेट नीतिमा आमूल परिवर्तन गर्नुपर्ने देखिन्छ। अझ खासगरी कर नीतिमा विशेष व्यवस्था गरे केही राम्रो हुनसक्छ। 
 
क्रिकेटमा लगानी गर्ने व्यवसायीलाई कर छुटको व्यवस्था गर्न सके धेरै व्यवसायीहरु क्रिकेटमा लगानी गर्न प्रोत्साहित हुने थिए। अहिलेको आयकर ऐनले पनि नेपाल सरकारलाई नीतिगत निर्णय गरेर कर छुट दिनसक्ने व्यवस्था गरेको छ। 
 
एकछिनलाई मानौं दार्चुलाको एक व्यवसायीले कुनै क्लबलाई वा स्कुललाई क्रिकेटका सामाग्री उपलब्ध गराउँछ भने उसले उक्त सामाग्रीको मूल्यमा कर छुट पाउनेछ वा कुनै व्यवसायीले क्रिकेट प्रतियोगितामा प्रायोजन गर्छ वा क्रिकेट खेलाडीलाई विज्ञापनमा खेलाउँछ भने पनि कर छुट पाउने व्यवस्था भए व्यवसायीहरु आफैं यसको विकासमा अघि सर्ने वातावरण बन्ने थियो। 
 
साना व्यवसायीले सानो तथा ठूला व्यवसायीले ठूला लगानी गर्न थाले भने क्रिकेट रोकिने थिएन । जति धेरै क्रिकेट उति धेरै खेलाडीहरुको जन्म हुने थियो। देशभर क्रिकेट भइरहनु भनेको क्रिकेटमा प्रतिस्पर्धा बढ्नु हो र प्रतिस्पर्धाबाट खारिएर आएका खेलाडीहरुले मात्र राम्रो क्रिकेट खेल्न सक्छन्।

हाम्रो क्रिकेटलाई कसरि अघि बढाउने र कता तिर डोर्‍याउने भन्ने हाम्रै हातमा छ। ईच्छाशक्तीको कुरा मात्र हो के गर्ने भन्ने !



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ