एजेन्सी । आर्सनललाई हराउँदै म्यान्चेस्टर युनाइटेड इङ्गलिश प्रिमियर लिगअंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । यसअघि म्यानयु छैटौं स्थानमा थियो । आइतबार राति घरेलु मैदानमा म्यानयुले आर्सनलाई ३–२ ले पराजित गरेको हो । म्यानयुलाई विजयी गराउन मार्कस रास्फोर्डले दुई गोल तथा एण्डर हरेराले एक गोल गरे । आर्सनलका लागि ड्यानी वेल्बेक र मेसुत ओजिलले एक–एक गोल गरे ।
यस्तै, अर्को खेलमा टोटनह्याम हट्सपरले स्वान्सी सिटीलाई पराजित गर्दै शीर्ष स्थानको लेस्टर सिटीसंग अंक दूरी कम गरेको छ । घरेलु मैदानमा टोटनह्यामले स्वान्सीलाई २–१ ले हराएको हो । जितसंगै म्यान्चेस्टर युनाइटेडको २७ खेलबाट ४४ अंक भएको छ । एक खेल कम खेलेको म्यान्चेस्टर सिटी ४७ अंक सहित चौथो स्थानमा छ । तेस्रो स्थानको आर्सनलको २७ खेलबाट ५१ अंक भएको छ । समान खेलबाट ५६ अंक जोडेको लेस्टर सिटी शीर्ष स्थानमा छ भने, ५४ अंक बटृुलेको टोटनह्याम दोस्रो स्थानमा कायम छ ।