arrow

पेस्तोल देखाएर यसरी लुटियो दश लाख 

logo
प्रकाश मैनाली
प्रकाशित २०७५ मंसिर २१ शुक्रबार
pistol.jpg.jpeg

सर्लाही । अज्ञात समूहले पेस्तोल देखाएर सर्लाहीको बाँके जङ्गलमा मङ्सिर  दिउँसो झण्डै दश लाख रुपैयाँ लुटेर लगेको छ । ईश्वरपुर नगरपालिका–१३, श्रीनगरमा रहेको महारानी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष धनेश्वर महतोको साथबाट ९ लाख ९० हजार रुपैयाँ लुटपाट भएको हो । 

लालबन्दीस्थित नेपाल इन्भेष्टमेन्ट बैङ्कबाट रकम लिएर जाँदै गर्दा  दिउँसो साढे १ बजेतिर दुई वटा मोटरसाइकल चढेर आएका चार जना नचिनेका मानिसले आफ्नो साथमा रहेको झोलाबाट रकम लुटेर फरार भएको महतोले बताए । 

ना ५५ प ९५६३ नं को मोटरसाइकलमा जाँदै गरेका महतोलाई पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँके चौकबाट करिव अढाई किलोमिटर दक्षिण निर्माणाधीन रेलमार्ग नजिक नचिनेका मानिसले हतियार देखाएर रकम लुटपाट गरेका हुन् । कार्यालयबाट पैंसा लिन आइरहने कर्मचारी बिदामा बसेका थिए, त्यसैले म एक्लै पैंसा लिन आएको थिएँ, महतोले भने‘ दक्षिणतर्फबाट आइरहेको एउटा टिपर पछि–पछि आइरहेको थियो, उनीहरुले म पुगेको ठाउँबाट टिपर कट्ने बित्तिकै मलाई मोटरसाइकल रोक्न लगाए, त्यसपछि टाउको र हातमा हिर्काएर झोला खोसेर लगे ।’ 

आफ्नो साथबाट पैंसा लुटिने बित्तिकै प्रहरीमा खबर गरेको महतोले बताए । सर्लाही प्रहरीले लुटपाटमा संलग्नको खोजी तीव्र पारिएको जनाएको छ । जिल्लाको सबैक्षेत्रमा मोटरसाइकल रोकेर कडाईका साथ चेकजाँच गरेर लुटपाटमा संलग्नहरुको खोजी गरिरहेको सर्लाही प्रहरीका प्रवक्ता डिएसपी विश्वराज खड्काले जानकारी दिए ।

लुटपाट हुने बित्तिकै सर्लाहीका प्रहरी प्रमुख एसपी पोषराज पोखरेल आफै चोरी भएको घटनास्थल बाँके जङ्गल आइपुगेका छन् । सुनसान र प्रहरी प्रशासनको समेत उपस्थिति कम रहेको सर्लाही र महोत्तरीको सीमा क्षेत्रमा पर्ने बाँके जङ्गल क्षेत्रमा पछिल्लो समय लुटपाटको घटनामा कमी आएको थियो । 

तर केही वर्षअघिसम्म व्यापक चोरी–डकैती हुने बाँके जङ्गल क्षेत्रमा बिहीबार पुनः लुटपाट भएको हो । यता पछिल्लो समय लालबन्दी बजारका विभिन्न वैंकहरुबाट ठूलो मात्रामा रकम निकालेर लाँदा समेत सहकारी संस्थाले प्रहरी प्रशासनसँग समन्वय गर्न छाडेका छन् । 

एक प्रहरी अधिकृतका अनुसार यसरी प्रहरीलाई थाहा नै नदिई धेरै–धेरै रकम झिकेर ग्रामीण बाटोहुँदै लाने गरेकाले लुटपाटको त्रास बढेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ