arrow

उपत्यकाको फोहोर व्यवस्थापन गर्नका लागि नुवाकोटको बन्चरेडाँडामा प्रक्रिया सुरु

१८ स्थानीय निकायको फोहोर व्यवस्थापन हुने

logo
प्रकाशित २०७५ मंसिर २१ शुक्रबार
nuwakot.jpg

काठमाडौं। उपत्यकाको फोहोर व्यवस्थापन गर्नका लागि नुवाकोटको बन्चरे डाँडामा प्रक्रिया अघि बढेको छ। बन्चरेडाँडामा फोहोर व्यवस्थापनका लागि शहरी बिकास मन्त्रालयमा आबश्यक पुर्वाधार निर्माणका लागि बजेट बिनियोजन  भई सडक बिभागले सडक टेण्डर आह्वान गरिसकेको छ।

यसै वर्षको असार महिनाभित्र उपत्यकाका सबै स्थानीय निकायको फोहोर व्यवस्थापन बञ्चरे डाँडा ल्यान्डफिल साइटमै गर्र्ने गरी काम अघि बढेको काठमाडौ महानगरपालिका का बातावरण बिभाग प्रमुख हरीकुमार श्रेष्ठले  जानकारी दिए।

उपत्यकाका फोहोर बन्चरेडाँडामा व्यवस्थापन गर्दा यसले स्थानीयमा पार्ने प्रभावबारे वातावरणीय मूल्यांकन (ईआईए) बनाइसकेको र यसले चारैतिर बस्तिभन्दा २ किलोमिटर भित्रमात्रै फोहोर व्यवस्थापन गर्ने योजना  बनाएको पनि प्रमुख श्रेष्ठले  बताए।

काठमाडौ उपत्यका सहित १८ स्थानीय निकायको फोहोर व्यवस्थापन गर्ने गरी बन्चरेडाडामा काम सुरु गर्ने प्रक्रिया अघि बढेको छ। हाल काठमाडौ र ललितपुर  दुई महानगरपालिकासहित १८ स्थानीय तहबाट दैनिक ८ सय ३ टन फोहोर सिसडोल ल्यान्डफिल साइटमा व्यवस्थापन भइरहेको छ।

सिसडोल ल्यान्डफिल साइटको अवस्था जटिल बन्दै गएको र पछिल्लो समयमा फोहोर व्यवस्थापन गर्न समेत समस्या पर्न थालेपछि गएको भदौमा काठमाडौ महानगरपालिकाका सहसचिवको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको थियो।

कामपाका सहसचिव भरतप्रसाद अर्यालको संयोजकत्वमा गठित समितिले सिसडोल ल्यान्डफिल साइट आसपासका अन्य स्थानमा वैकल्पिक ल्यान्डफिल साइटको खोजी गर्दा जग्गा प्राप्तिपछि थप समस्या पर्ने भएकाले वञ्चरेडाडामै ल्यान्डफिल साइट बनाउनुपर्ने सुझाव दिएको थियो।

समितिले तत्काल वञ्चरेडाँडामा फोहोर व्यवस्थापनको पूर्वाधार निर्माण शुरु नगरे उपत्यकाको फोहोर व्यवस्थापन हुन नसकी विकराल समस्या सिर्जना हुन सक्ने चेतावनी दिएको छ। 

बञ्चरेडाँडाको जग्गा प्राप्ति भइसकेको, वातावरणीय मूल्यांकन (ईआईए) भइसकेको, पहुँच मार्ग खोलिसकेको, कोल्पुखोला पुल निर्माण भइसकेको र फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रबाट विस्तृत ढाँचा (डीपीआर) तयार भइसकेकोले यहा उपत्यकाको फोहोर व्यवस्थापन गर्न उपयुक्त देखिएको  प्रतिबेदनमा उल्लेख छ।

दीर्घकालीन ल्यान्डफिल साइट बञ्चरेडाँडामा १ हजार ७ सय ९२ रोपनी जग्गा प्राप्ति भइसकेको, ईआईए सकिएको, कोल्पुखोलामा पक्की पुल निर्माण भइसकेको अवस्थामा बञ्चरेडाँडा नै अन्तिम विकल्पको रुपमा रहेको समितिको ठहर छ।

ल्यान्डफिल साइटको वैकल्पिक स्थान बञ्चरेडँडा संगै चलेटार, श्यामेखोल्सा, सिस्टे गहिरो, खाल्टे खेत र चापे गहिरोको स्थलगत अवलोकन गर्दा चलेटार, सिस्टे गहिरो र चापे गहिरोको जग्गा सरकारबाट जग्गा प्राप्त भइनसकेको, ईआईए पनि गर्नुपर्ने र यो कार्यका लागि समय लाग्ने उल्लेख छ।

सिसडोलदेखि बञ्चरेडाँडासम्मको सडकको पूर्वाधार विकास निर्माण, मर्मतलगायतका सम्पूर्ण कार्य तुरुन्त गर्नुपर्ने भएकाले  सडक विभागले तत्काल काम सुरु गर्न टेण्डर आह्वान गरी प्रक्रिया सुरु गरिसकेको छ।

जापानी सहयोग नियोग जाइकाले सन् २००२ मा बञ्चरेडाँडा दीर्घकालीन ल्यान्डफिल साइटको डिजाइन तयार गरी १ अर्ब ८६ करोड लागत लाग्ने अनुमान गरेको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ