काठमाडौं। सन् २०१६ मा एक एक अफगानी बालकले लियोनेल मेस्सीलाई भेटे। उनले सानो उमेरमा नै आफ्नो मनपर्ने खेलाडी निकै ठूलो आत्मविश्वास तथा आँटका साथ भेट्ने मौका पाए।
सात वर्षको उमेरमा मेस्सीलाई भेट्ने यी बालकको नाम थियो– मुर्ताजा महमदी। अफगानिसस्तानी बालकले एकदिन मेस्सीजस्तै महान् फुटबलर बन्ने आफ्नो सपना रहेको बताएका थिए। यद्यपि ठूलो सपना साँचेका बालकलाई भने अहिले अफगानिस्तानको युद्धको रापले पोलिरहेको छ। यी बालक अहिले हजारौं विस्थापित अफगानीहरुको बीचमा कहालीलाग्दो जीवन बिताइरहेका छन्।
गत नोभेम्बर महिनामा मुर्ताजा र उनको परिवारले अफगानिस्तानको घान्जी प्रान्तलाई छाडेका थिए। यसअघि सुरक्षित मानिएको यो क्षेत्रमा तालिबानले आफ्नो प्रभाव जमाएर सरकारसँग युद्ध सुरु गरेसँगै सयौं सर्वसाधारणहरु विस्थापित भएका थिए।
२०१६ मा मुर्ताजाले प्लाष्टिकको झोलामा अर्जेन्टिनाको राष्ट्रिय ड्रेसको जस्तो पेन्ट गरी १० नम्बरको जर्सी लगाएका थिए। उनको सो फोटो सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमहरुमा व्यापकमात्रामा फैलिएको थियो। यो फोटोले मेस्सीको पनि ध्यान खिचेको थियो। यसपछि मेस्सीले बार्सिलोनाको एक खेलमा उनलाई पनि सँगै लगेका थिए।
मेस्सी युनिसेफका सद्भावना दूत पनि हुन्। उनले आफ्ना यीश फ्यानलाई अटोग्राफसहितको जर्सी र फुटबल पनि दिएका थिए। यो खुसी भने लामो समयसम्म रहन सकेन। मुर्ताजाकी आमाले आफ्नो बासस्थान वरपर गोलीका आवाजहरु सुनिएको उक्त ठाउँ छाड्ने निर्णयमा पुगेको बताइन्। उनीहरु जाग्होरी भन्ने स्थानमा बस्दै आएका थिए।
संयुक्त राष्ट्रसंघको विवरणअनुसार अफगानिस्तानमा युद्धको कारण ४ हजार परिवार विस्थापित भइसकेका छन्। मुर्ताजाकी आमाले यदि तालिबानले आफ्ना छोरालाई कब्जामा लिएको खण्डमा उसको बाँच्ने आशा नरहेको भन्दै आफूहरु विस्थापित हुन लागेको बताइन्।
१९९६–२००१ को तालिबानको शासनमा खेलकूद असह्य नै मानिथ्यो। अफगानिस्तानको ठूला स्टेडियमहरु तालिबानले मानिसहरुलाई झुण्डाएर मार्ने तथा यातना दिनका लागि प्रयोग गर्ने गर्थे। आफ्नो घर छाडेर हिँडेका उनीहरु छ दिनपछि काबुल पुगेका छन्। जतिबेला मुर्ताजाले मेस्सीको हस्ताक्षर भएको जर्सी आफूसँगै राखेका थिए।
मुर्ताजाकी आमाका अनुसार उनलाई तालिबानले छोरालाई अपहरणको धम्की दिने गरेका थिए। यस्तोमा केही नचिनेका मानिसहरु घर वरपरी आउने र निगरानी गर्ने गरेको उनले बताइन्। यस्तोमा आफूले छोरलाई बाहिर अन्य बालबालिकाहरुसँग खेल्ने अनुमति दिन पनि नसकेको उनले बताइन्। यसअघि पनि यो परिवार भागेर पाकिस्तान पुगेको थियो।
मुर्ताजाका बाबु आरिफ अझै पनि जाग्होरीमा रहेका छन्। उनी एक किसान हुन्। उनका परिवारहरु भने अहिले काबुलमा निकै कठिन अवस्थाको बीचमा बाँचिरहेका छन्। उनीहरुसँगै ३ लाख विस्थापितहरु काबुलमा रहने गरेका छन्। यस वर्षको सुरुवातदेखि भड्किएको हिंसाको कारण विस्थापित भएकाहरुमध्ये ५८ प्रतिशत १८ वर्षमुनिका छन्।
मुर्ताजाले भने काबुल आउनुपर्दा आफ्नो फुटबल टाली र मेस्सीले दिएको जर्सीको निकै याद आएको बताए। आफू सोही स्थानमा फर्केर फुटबल खेल्ने इच्छा रहेको बताए।