व्यवसायीको काममा हस्तक्षेप हुँदैन : मन्त्री महासेठ
प्रकाशित २०७५ मंसिर २२ शनिबार
314
Shares
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले निर्माण व्यवसायीका जायज काममा सरकारी हस्तक्षेप नहुने प्रतिबद्धता जनाए । नेपाल निर्माण व्यवसायी महासङ्घले ११औँ राष्ट्रिय निर्माण दिवसको अवसरमा शनिबार यहाँ आयोजना गरेको प्रभातफेरि कार्यक्रममा उनले व्यवसायीका काममा सरकारी हस्तक्षेप हुन नदिने बताए । देश बनाउने जिम्मेवारी निर्माण व्यवसायीकै हो भन्दै मन्त्री महासेठले पूर्ण शक्तिका साथ देश निर्माणमा जुट्न व्यवसायीलाई अनुरोध गरे ।
“विगतमा व्यवसायी र सरकार दुवै पक्षबाट कमी कमजोरी भए होलान्, अब त्यस्ता कमी कमजोरी सच्यााएर अघि बढ्नुको विकल्प छैन”मन्त्री महासेठले भने । उनले २०५२ सालदेखि विभिन्न कारणले पूरा नभएका योजनाको म्याद थप गर्ने प्रक्रिया शुरु भइसकेको जानकारी दिए ।”महासङ्घका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायलाई स्थापित पेशा बनाउन वर्तमान नेतृत्व क्रियाशील रहेको बताए । अहिलेको सरकारको नारा ‘समृद्ध नेपाल सुखी नेपाली’लाई साकार बनाउन महासङ्घ प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले निर्माणमैत्री वातावरण अहिलेको आवश्यकता भएको बताए । महासङ्घका उपाध्यक्ष आङदोर्जी लामा(एडी) ले भौतिक पूर्वाधारको निर्माणबिना समृद्ध नेपालको परिकल्पना गर्न नसकिने बताए । महासङ्घका महासचिव रोशन दाहालले सरकार र व्यवसायीबीचको सहकार्यबाट मात्र निर्माण क्षेत्रको विकास हुने बताए ।
उपमहासचिव टङ्कप्रसाद चौंलागाईले निर्माण दिवसको महत्वमाथि प्रकाश पारेका थिए । सो अवसरमा मन्त्री महासेठले महासङ्घको मुखपत्र ‘निर्माण समाचार’ को विमोचन गरे । प्रभातफेरी त्रिपुरेश्वर, थापाथली, माइतीघर, बबरमहल हुँदै अनामनगरस्थित महासङ्घको सचिवलाय पुगेर टुङ्गिएको थियो ।
रक्तदान
दिवसकै अवसरमा आज महासङ्घको सचिवालयमा रक्तदान कार्यक्रम गरियो । देशभर रगतको अभाव रहेको अवस्थामा सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम गरिएको महासङ्घका जनसम्पर्क अधिकृत रामचन्द्र गिरीले जानकारी दिए । सो अवसरमा निर्माण व्यवसायी तथा सर्वसाधारण गरी ५० जनाले रक्तदान गरेका थिए । रक्तदातालाई महासङ्घका अध्यक्ष सिंह, पूर्व अध्यक्ष तथा सल्लाहकार रमेश शर्मा लगायतले प्रमाणपत्र वितरण गरे।
कृष्ण मन्दिर परिसरमा दीप प्रज्वलन
यसै अवसरमा आज पाटनस्थित कृष्ण मन्दिर परिसरमा दीप प्रज्वलन गरिएको छ । ललितपुर जिल्ला निर्माण व्यवसायी सङ्घको आयोजनामा दीप प्रज्वलन गरिएको महासङ्घले जनाएको छ ।