arrow

राइड टु सिन्धुलीगढी साइकल यात्रा भब्य रुपमा समापन, जनकपुर पुगे ११५ साइकल यात्री

logo
प्रकाशित २०७५ मंसिर २७ बिहिबार
ride-to-sindhuli.jpg

काठमाडौं। समृद्ध सिन्धुली अभियानको आयोजनामा भएको यस बर्षको राइड टु सिन्धुलीगढी साइकल यात्रा जनकपुरमा पुगेर टुंगिएको छ। राजधानीको पशुपतिनाथ मन्दिर परिषरबाट सुरु भएको ११५ यात्री सहभागी यात्रा जनकपुरको जानकी मन्दिरसम्म पुगेको थियो।

सिन्धुलीगढीमा तत्कालीन ब्रिटीस कम्पनीको सेनालाई पराजित गरेको सम्झनामा सुरु गरिएको साइकल यात्राको उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलले सुभारम्भ गरेका थिए । यात्रीलाई जनकपुरमा २ नम्बर प्रदेशका कृषि, सहकारी तथा भूमीसुधार मन्त्री योगेन्द्र यादव, जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, अप्पन टिभीका संस्थापक नविन के साहलगायतले स्वागत गरेका थिए।

काठमाडौं देखिको २५० किलोमिटर साइकल यात्रामा नौ वर्षे यात्री सुयोगमान बस्नेतसमेत सहभागी थिए । उनका बाबु योगेन्द्रमानसिंह बस्नेत र आमा सुधा थापा बस्नेतले समेत यात्रा पूरा गरेका थिए । त्यस्तै यात्रामा एक जना डच महिला अगिथ बल्केनासमेत सहभागी थिइन् । यस बर्षको साइकल यात्रा निकै ब्यवस्थित भयो, साइकल यात्रीको नेतृत्व गरेका देवेन्द्र बस्नेतले भने, बाटोमा विभिन्न संघसंस्था र ब्यक्तिहरुले गरेको स्वागतले यात्रीलाई निकै उत्साहित बनाएको छ।

काठमाडौँको पशुपतिबाट सुरु भएको साइकल यात्रा बनेपा, धुलिखेल, रोशी खोलैखोला बीपी मार्गहुँदै दुम्जा, झाँगाझोली, खुर्कोट, सिन्धुलीगढी, सिन्धुलीमाढी, भिमान, चुरे, बर्दिबास, ढल्केबर, धारापानी, धनुषाधामहुँदै जनपुरस्थिति जानकी मन्दिरसम्म पुगेको थियो।

साइकल यात्रीहरुलाई भक्तपुर, बनेपा, धुलिखेल, झाँगाझोली गुठबजार, मुल्कोट, खुर्कोट, सिन्धुलीमाढी, भिमान, चुरे, बर्दिबासलगायत स्थानमा स्थानीयवासिन्दा तथा जनप्रतिनिधिहरुले स्वागत गरेका थिए । साइकल यात्राको पहिलो दिन सुनकोशी गाउँपालिकाको मुल्कोट, दोस्रो दिन सिन्धुलीमाढी र तेस्रो दिन जनकपुरमा स्थानीय कलाकारले साँस्कृतिक कार्यक्रमसहित भब्य स्वागत गरेको सहआयोजक सिन्धुलीय श्रेष्ठ समाजका सचिव हरिकृष्ण श्रेष्ठले बताए।

मुल्कोटमा होटल व्यवसायी तथा बजार व्यवस्थापन समितिद्वारा आयोजित साँस्कृतिक कार्यक्रममा खाना र स्थानीय उत्पादनको स्टल समेत राखिएको थियो । साइकलयात्रीको स्वागतमा पूर्वमन्त्री तथा सांसद हरिबोल गजुरेल, प्रदेश सभा सदस्यहरु राजन दाहाल, प्रदिप कटुवाल, विनोद खड्कालगायत मुल्कोटमा उपस्थित भएका थिए । मुल्कोट र सिन्धुलीमाढीमा कलाकारले चित्र बनाएर प्रदर्शनीसमेत गरेका थिए।

साइकल यात्रीलाई कुशेश्वर दुम्जामा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कैलास ढुङेल, प्रदेश सभा सदस्य राजन दाहाल, सुनकोशी गाउँपालिका अध्यक्ष दिपा बोहरा दाहाललगायतले भब्य स्वागत गरेका थिए । त्यस्तै ऐतिहासिक सिन्धुलीगढीमा कमलामाई नगपालिकाका प्रमुख खड्ग खत्रीलगायतले स्वागत गरेका थिए।

समृद्ध सिन्धुली अभियानका अभियन्ता लीलानाथ घिमिरेले यस बर्षको साइकल यात्राले काठमाडौंको आधारध्यदेव पशुपति नाथलाई जानकीको जन्मभूमी जनकपुरधामसँग जोड्ने सेतुको काम गरेको बताए । साइकल यात्राले पहाड र तराईबीच सद्भाव कायम गर्नसमेत सघाएको छ, उनले भने। राइड टु सिन्धुलीगढीको सहआयोजकमास्टोरी साइकल, सिन्धुलीय श्रेष्ठ समाज, सानो पाइला, फ्याक्ट्स नेपाललगायत रहेका थिए । त्यसैगरी, पर्यटन बोर्डले प्रवर्द्धनमा सहयोग गरेको थियो।

यस बर्ष विवाह पञ्चमीमा जनकपुरमा हुने महोत्सवमा सहभागी गराउने गरी साइकल यात्रीलाई लगिएको हो । ‘साइकल यात्राले काठमाडौंलाई ऐतिहासिक सिन्धुलीगढी र सांस्कृतिक सहर जनकपुरधामलाई जोडेर विश्वसामु परिचित गराउन सहयोग गरेको छ’, यात्राका संयोजक सौरभ ढकालले भने, ‘सिन्धुलीगढीसम्म हरेक बर्ष गरिँदै आएको साइकलयात्रालाई यस बर्ष दुई नम्बर प्रदेशको राजधानीसम्म पुर्याउन सफल भएका छौं । यात्रामा स्थानीय बासिन्दा र संघसंस्थाको स्वतस्फुर्त सद्भाव र स्वागतले हामी निकै उत्साहित भएका छौं।

‘राइड टु सिन्धुलीगढी’ लाई ब्रान्डिङ गरेर हरेक बर्ष ब्यवसायिक साइकलयात्रीलाई सहभागी गराउने योजना अनुरुप समृद्ध सिन्धुली अभियानले साइकल यात्रा गर्दै आएको छ । यस बर्ष राइड टु सिन्धलीगढीको तेस्रो संस्करण हो । नागवेली सडक, सुनकोशी तिरैतिर साइकलमा गुड्दा रोमाञ्चक अनुभूति भएको यात्री भूमराज तिवारीले बताए।

अभियानले ऐतिहासिक सिन्धुलीगढीमा तत्कालीन गोर्खाली सेनाले वीरता प्रदर्शन गरेको सम्झनामा हरेक बर्ष मनाइने विजयोत्सवमा साइकल यात्रीलाई सहभागी गराउँदै आएको थियो । सिन्धुलीगढीमा गोर्खालीले अंग्रेजी सेनालाई हराएको २ सय ५० बर्ष पुगेको अबसरमा गत बर्ष मनाइएको विजयोत्सवमा सहभागी हुन गएका साइकल यात्रीलाई काठमाडौंमा उपराष्ट्रपति नन्दबहादुर पुनले विदाइ गरेका थिए भने सिन्धुलीगढीमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी थिइन्।

समृद्ध सिन्धुली अभियानले साइकल यात्रामा सघाउने सिन्धुलीय श्रेष्ठ समाज, सानो पाइला, फ्याक्ट्स नेपाल पर्यटन बिकास बोर्ड, पशुपति बिकास कोष, नेपाल साइकल एसोसिएसन, प्र्याँक बाईक, नया पत्रिका दैनिक, डिस होम, राष्ट्रिय बाणिज्य बैंक, तेजभक्त कन्ट्रक्सन, फास्टफुड एसोसिएसन, रियलाइन्स इन्स्योरेन्स, रेड बुल, कोकाकोला, होटेल शिभम् प्लाजा, ब्यवसायी कुन्छा लामा डिमडोंग, घोक्सिला समाजका नबराज बराल, सुनकोशीका बिदुर बैद्य र रामसुन्दर श्रेष्ठ, इबामुरा हस्पिटल भक्तपुर, रिचार्जर, कुमकुम हर्बल, नेपाल रेक्रस सोसाइटी सिन्धुलीशाखा, रेडक्रसकै सित्तलपाटी, दुम्जा उपशाखा, धनुषा धारापानी उपशाखा, बादे कला पुच, मेघा खाद्य स्टोर, बन्टी हिमालय, भक्तपुर पर्यटन बोर्ड, सुलभ सहकारी बनेपा, हनुमान मावि काभ्रे, मानसरोवर श्रेष्ठ मंगलटार, सुनकोशीको झाङाझोलीका अशोक गिरीसहित बासिन्दा, सुनकोसी गाउँ पालिका परिवार, मुल्कोट होटेल व्यावसायी परिवार, गोलन्जोर श्रेष्ठ समाज, कृषि सहकारी माथिल्लो बारा परिवार, जुनार सहकारी खनियाखर्क, जुनार उत्पादक किसानहरु, कमला माई नगरपालिका, प्रतिभा कला केन्द्र सिन्धुली, रेडियो सिन्धुलीढी ९२ मेगाहर्ज, होटेल व्यावसायी संघ, सिन्धुली, माइस्थान मन्दिर ब्यबस्थापन परिवार, नेपाल कपडा तथा सिलाइ व्यावसाययी सङ्घ सिन्धुली, कमलामाई कृषि तथा व्यावसायिक फर्म संचालक नबराज श्रेष्ठ, सन्तोष श्रेष्ठ, चुरे, सनसाइन स्कुल बर्दिबास, बर्दिबास नगरपालिका, बर्दिबास होटल व्यावसायी सङ्घ, मिथिला वाइल्ड लाईफ ट्रस्ट धारापानी, मोनास्टिक स्कुल जनकपुर, जनकपुर उपमहानगरपालिका, २ नम्बर प्रदेश सरकारको कृषि तथा पर्यटन मन्त्रालय लगायत स्थानीय संघ सस्थालाई धन्यवाद ज्ञापन गरेको छ । त्यस्तै साइकल यात्राको प्रचारप्रसारमा सघाउने सम्पूर्ण संचारमाध्यम र संचारकर्मीप्रति आभार ब्यक्त गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ