arrow

मनाङको उपाधि यात्रा सहज, आर्मी क्लब कमजोर

logo
कुमार चौलागाईं,
प्रकाशित २०७५ मंसिर २८ शुक्रबार
Football_Manang_DIV1.jpg

काठमाडौँ । मनाङ मस्र्याङ्दी क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा लगातार आठौँ जित निकाल्दै उपाधि यात्रा सहज बनाएको छ ।

आज सातदोबाटोस्थित एन्फा मैदानमा भएको प्रतिष्पर्धात्मक खेलमा त्रिभुवन आर्मी क्लबलाई १–० गोलले हराउँदै गर्दै मनाङ्ले अपराजित यात्रा कायमै राखेको हो । मनाङका लागि विजयी गोल विशाल राईले खेलको ३१औँ मिनेटमा गरेका थिए । जितसँगै मनाङले आठ खेलबाट २४ अङ्क जोडेको छ । आर्मी १७ अङ्कसहित चौथो स्थानमा यथावत छ ।

आर्मी उपाधि होडमा कमजोर

सातौँ चरणसम्म अपराजित रहेको त्रिभुवन आर्मी क्लब आजको हारसँगै उपाधि होडमा कमजोर बनेको छ । मनाङविरुद्व मुख्य तीन स्ट्राईकर भरत खवास, जर्ज प्रिन्स कार्की र नवयुग श्रेष्ठलाई मैदान उतारेपनि आर्मीले गोल गर्न सकेन ।

पहिलो हाफमा १–० गोलले पछि परेको आर्मीले दोस्रो हाफमा खेलमा फर्कन प्रयास गरे पनि गोल गर्न सकेन । आक्रामक देखिएको खेलमा आर्मीले एक पछि अर्को योजना बुनेपनि गोल गर्न भने सकेन । खेलको ४७औँ मिनेटमा कप्तान भरत खवासको क्रसमा नवयुग श्रेष्ठले डि बक्सभित्रबाट गरेको हेड सिधै किपरको हातमा परेको थियो ।

जर्ज प्रिन्स कार्कीले ५३औँ मिनेटमा हानेको बल पोस्टको थोरै माथिबाट बाहिरिएको थियो । यस्तै ५८औँ मिनेटमा दिनेश हेन्जनले हेडमार्फत मिलाइदिएको पासमा नवयुग गोल गर्न चुके । यता मनाङले समेत दोस्रो हाफमा अग्रता दोब्बर पार्ने थुप्रै मौका गुमायो । खेलको ६०आँै मिनेटमा कमल श्रेष्ठको क्रसमा अडिलाजाले गरेको हेड आर्मीका किपरले बचाएका थिए । यस्तै ६८आँै मिनेटमा मनाङका कप्तान विराज महर्जनको पासमा एडिलाजाको प्रहारलाई किपर बिट भएको अवस्थामा आर्मीका डिफेन्डर जितेन्द्र कार्कीले गोल हुनबाट बचाए भने ७६आँै मिनेटमा मनाङले अर्को गोल गर्ने मौका गुमायो । भिक्टोरले डि बक्सभित्रबाट प्रहार गरेको बल पोस्टमा लागेर फर्किएको थियो ।

मनाङ्का प्रशिक्षक सुमन श्रेष्ठले आजको जितसँगै उपाधि जित्ने सम्भावना बलियो हुँदै गएको बताउनुयो । उनले भने, “अब लिगको उपाधि जित्ने सम्भावना ७५ प्रतिशत छ ।” उनले थ्री स्टार क्लबविरुद्ध खेल्दाकै रणनीतिअनुसार आजको खेल खेलेको र त्यसमा आफू सफल भएको बताए ।

आर्मीका प्रशिक्षक नविन न्यौपानेले पाएको अवसरको सदुपयोग गर्न नसक्दा हार बेहोर्नुपरेको बताए । मनाङका विदेशी खेलाडीलाई रोक्न नसक्नु कमजोरी भएको उनको भनाइ थियो । “हारसँगै हामी उपाधि होडबाट बाहिरियौँ, अबको लक्ष्य बाँकी पाँच खेल जित्दै उत्कृष्ट तीनमा पर्नु हो,” उनले भने। रासस

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ