arrow

मिलेनियम ट्रेकमा जोडिदै दरबार र गुफा

logo
वासुदेव पौडेल 
प्रकाशित २०७५ मंसिर २९ शनिबार
millenium-trek.jpg

पोखरा । मध्यपहाडी क्षेत्रको नेपालकै पहिलो पदयात्रा मार्ग स्रहशाब्दी मार्ग (मिलेनियम ट्रेक)मा पर्ने ऐतिहासिक ढोर दरबार र मिलेनियम गुफालाई जोड्दै यस क्षेत्रको पर्यटकीय विकासको पहल शुरु भएको छ । 

तनहुँको दुलेगौंडाबाट स्याङ्जाको रामबाछा जोडिने झण्डै ७२ किलोमिटर लम्बाइको यस पद्यात्रा मार्गमा पर्ने लगभग ३०० वर्ष भन्दा पुरानो ढोर दरबारका साथै मिलेनियम गुफालाई समेट्दै विकासको पहल थालिएको हो । 

सन् २००० मा शुरु गरिएको पदयात्रा मार्गमा यस ऐतिहासिक दरबार र गुफालाई गुरुयोजनामा समेटिएको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले बताए । “यस पदमार्गअन्तर्गत शुक्लागण्डकी नगरपालिका–१० मा पर्ने ढोर दरबारको यहाँको ऐतिहासिक एवं पुरातात्विक स्थल हो,” उनले भने, “शुक्लागण्डकीकै वडा नं १२ र स्याङ्जाको पुतलीबजार नगरपलिका–७ को सिमानामा पर्ने मिलेनियम गुफामा देखिने विविध दृश्य अर्को छुट्टै आकर्षण हो । 

नेपालका बाइसे चौबिसे राजाका समयमा पहिलो राजा कृति खाँड र अन्य राजाले राज्य गरेको ढोर राज्य विसं १८३७ मा गोरखामा विलय भएको थियो । अहिले पनि यस दरबारमा तत्कालीन समयका भग्नावशेष पाइन्छ । दरबार, गढी, त्यहाँस्थित शक्तिपीठ, देउती बज्यैको थान, टक्सार घर आदिको भग्नावशेष देख्न सकिन्छ । 

ढोर दरबार संरक्षण एवं पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम खाँडका अनुसार पुरातत्व विभागको सहयोगमा रु १२ लाखको लागतमा दरबार संरक्षणको प्रयास गरिएको छ । यस आर्थिक वर्षमा पनि दरबार क्षेत्रको संरक्षणका लागि पर्यटन मन्त्रालयबाट रु सात लाख विनियोजन भएको छ भने शुक्लगण्डकी नगरपालिकाले रु चार लाख छुट्याएको छ । 

दरबार हेर्न आउने पर्यटकका लागि दरबार नजिकैको रजस्थल गाउँमा घरवास कार्यक्रम सञ्चालन गरिएको छ । रजस्थलमा १० वटा घरमा घरवास कार्यक्रम चलेको रजस्थल सामुदायिक होम स्टेकी कोषाध्यक्ष पवित्रा रानाले जानकारी दिए । पदयात्राका लागि आउने जो कोहीले नछुटाउने गन्तव्य स्थल दरबार र गुफालाई अझ आकर्षक र व्यवस्थित बनाउन आवश्यक रहेको उनको भनाइ छ । 

पदयात्रा मार्गकै मिलेनिययम गुफा यहाँको अर्को महत्वपूर्ण आकर्षण भएको मिलेनियम गुफा संरक्षण समितिका सचिव प्रेम गुरुङले बताए । गुफाको व्यवस्थापनका लागि आर्थिक वर्ष २०७०–७१ मा रु पाँच लाखको लागतमा सिँढीलगायतका पूर्वाधार निर्माण गरिएको उनले जानकारी दिए ।

गुफाको सानो प्वालबाट छिरेपछि भित्र विभिन्न प्राकृतिक आकृति कँुदिएको पाइन्छ । देवी देवता, हात्ती, विभिन्न जनावर आदिको झल्को दिने आकृतिका साथै गुफाभित्रै देखिने मनोरम झरना यहाँको विशिष्टता हो । 

मिलेनियम गुफा अवलोकन गर्न आउने पर्यटकका लागि स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित सादी खोला र तनहुँको शुक्लागण्डकी नगरपालिका–ं१२ स्थित घरेडीमा होम स्टे (घरवास) सञ्चालन भइसकेको छ । 

घरेडी सामुदायिक होम स्टेकी अध्यक्ष कोपिला गौतमले पर्यटकको सुविधालाई लक्षित गरी घरवास कार्यक्रम प्रभावकारी बनाउन लागिएको बताए । समुद्री सतहबाट ४२० मिटरदेखि एक हजार ७१५ मिटरसम्म उचाइमा रहेको पदयात्रा मार्गमा तनहुँ र स्याङ्जाका साविक २२ गाविस पर्दछन् । 

पदमार्ग क्षेत्रमा दरबार एवं गुफा पर्यटक लोभ्याउने विशिष्ट स्थल भएका कारण व्यवस्थाय सँगसँगै यिनीहरूको संरक्षण र विकासलाई अघि बढाइने महाचिव गुरुङले बताए । दरबारको ऐतिहासिकता र गुफाको प्राकृतिक सौन्दर्य यहाँको महत्वपूर्ण आकर्षण बन्ने उनको विश्वास छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ