arrow

स्वदेशमै व्यवसायमा रम्दै युवा

logo
जमुना गजुरेल,
प्रकाशित २०७५ पुष १ आइतबार
nuwakot-district.png

विदुर । चरम गरीबीले पिल्सिएका विदुर नगरपालिका–५ का २७ वर्षीय बालकृष्ण पनेरुले जीवनमा धेरै हण्डरहरु बेहोर्नुपर्‍यो । सानो छँदा नै घरको मियोका रुपमा रहेका बाबुको मृत्युपछि गाउँमा मेला, मजदूरी गर्दै माध्यमिक तहसम्मको शिक्षा पूरा गर्नुभएका पनेरुले एसएलसीपछि उच्च शिक्षा अध्ययन गर्न धेरै कष्ट उठाउनुपर्‍यो ।

 घरको जेठो छोरो भएपछि घर परिवारको सम्पूर्ण जिम्मेवारी उहाँकै काँधमा आइपर्‍यो । स–साना भाइबहिनीको पनि पालनपोषण गर्नुपर्ने अर्को बाध्यता थियो । घरको कमजोर आर्थिक अवस्थाकै कारण स्वदेशमा मेला मजदूरीले परिवार पाल्ने धौ–धौ हुने देखेपछि ऋणधन गरेर अन्ततः उनि विदेश पलायन भए  । तर, राम्रो कमाउने अनि सुखसँग परिवार पाल्ने सपना बुनेर खाडी मुलुक छिर्नुभएका पनेरुले त्यहाँ ६ वर्षसम्म बस्दा पनि सोचेजस्तो कमाउन सकेनन् । बरु, गाउँमै फर्केर केही काम गर्ने अठोट उनको मनमा जाग्यो । ऋण लिएरै भए पनि व्यावसायिक कुखुरापालन गर्ने योजना बनाए ।

एक वर्षअघि विदेशबाट फर्केर व्यावसायिक रुपमा ब्रोइलर कुखुरा पाल्न शुरु गरे । पाँचसय कुखुराबाट शुरु गरी व्यवसाय थालेका पनेरु आफ्नो आम्दानीको स्रोत अहिले यही नै बनिसकेको बताउछन् । आफ्नै घरछेउमा करीब दुई हजार कुखुरा अट्ने क्षमताको टहरो निर्माण गरी दैनिक त्यसैको स्याहारसुसारमा उनि व्यस्त रहन्छन् । कुखुरापालन गर्न शुरुमा टहरा र चल्लाका लागि चार लाख रुपैयाँ ऋण खोजेर व्यवसाय थालेका उनले एक समूहकै कुखुरा बेचेर ऋण चुक्ता गरे। करीब ४५ देखि ५० दिनमा कुखुरा बेच्न लायक हुने र एक पटकमा एक लाखदेखि दुई लाख रुपैयाँसम्म आम्दानी गर्न सकिने पनेरु बताउछन् ।

पनेरु भन्छन्  – “पहिला विदेश जानुभन्दा बरु यही व्यवसाय गर्ने आँट त्यतिबेला आएन । शायद, यसरी पहिला नै गर्न सकेको भए मैले विदेशमा थोरै पैसा कमाउनका लागि धेरै कष्ट झेल्नु नपर्ने रहेछ ।” त्यसैले अहिले उनि आफ्नै ठाउँको महत्व र सम्भावना नचिनेर विदेश जान खोज्नेहरुलाई यही सुझाव र सल्लाह दिन्छन् ।

पनेरुको जस्तै अर्थाभावका कारण विदेशमा पसिना र परिश्रम खर्चेर केही आर्जन गर्न नसकेका र स्वदेशमा मेहनत गरेपछि सफल बनेका धेरै युवकहरु नुवाकोटमा अहिले प्रशस्त भेटिन्छन् जो विदेशभन्दा आफ्नै माटोलाई चिन्न सकेमा समृद्ध र उज्यालो भविष्य नेपालमै रहेको सन्देश गर्वका साथ दिइरहेका मात्रै छैनन्, सफल व्यवसाय गरेर त्यसको पुष्टि नै गरिरहेका छन् ।

सफल युवाको सूचीमा म्यागङ गाउँपालिका वडा नं ६ वर्ष ३६ का भद्रसिंह तामाङको पनि नाम आउँछ । सात वर्ष खाडी मुलुकमा बस्दा पनि आफ्नो र परिवारको जीवनमा कुनै परिवर्तन आएको नदेखेपछि उहाँले गाउँमै फर्केर तीन वर्षदेखि व्यावसायिक तरकारी खेती शुरु गरे। दश हजार रुपैयाँको लगानीमा एउटा टनेलबाट गोलभेँडा लगायतका तरकारी उत्पादन गर्न शुरु गरेका उनले अहिले ५ रोपनी क्षेत्रफलमा करीब १० वटा टनेल बनाएर आफ्नो खेतीलाई विस्तार गर्न सफल भएका छन् । “विदेशमा तीन-चार महिनामा कमाउने पैसा अहिले म यहीँ गाउँमै कमाउन सक्षम बनिसकेको छ,” विदेशमा पैसा कमाउनका लागि जान मरिहत्ते गर्ने अहिलेका युवालाई प्रेरणा दिँदै उनले भने – “त्यहाँ गएर अर्काको देशमा बगाउने पसिना यहीँ आफ्नै माटोमा सिँचित गर्ने हो भने कहीँ जानुपदैन कमाउनका लागि ।” परिवारसँगै बसेर काम गर्न पाउँदा उहाँ ज्यादै प्रफुल्ल छन् । एउटा टनेलमा गरेको तरकारी खेतीबाट मात्रै उनले ५० हजार रुपैयाँसम्मको तरकारी उत्पादन गर्न सक्षम भएका छन् ।

भद्रसिंहको जस्तै म्यागङ गाउँपालिका–६ सामरीकै पल्छिरिङ तामाङ पनि दुःख र कष्टको वैदेशिक रोजगारीको नियति भोगेर आफ्नै माटोमा मेहनत पछि सफल व्यवसायीको रुपमा दरिएका युवा हुन् । वैदेशिक रोजगारीका लागि चार वर्ष मलेशियामा मजदूरी गरेर पनि सन्तुष्ट बन्न नसकेपछि स्वदेश फर्किएर विगत ३ वर्षदेखि उहाँ गाउँमै कुखुरापालन गरी उदाहरणीय व्यावसायिक युवा बनेका छन् ।

पाँच सय ब्रोइलर कुखुराबाट व्यवसाय शुरु गरेका पल्छिरिङले कुखुरा मात्रै नभएर अण्डासमेत उत्पादन गर्ने र दोहोर आम्दानी लिने योजनाकासाथ आफ्नो व्यवसायलाई फराकिलो बनाएका छन् । अहिले दुई हजारसम्म लेस जातको कुखुरा पाल्नुभएको छ उनले । “विदेश गएर धेरै पैसा कमाइन्छ भनेर गएँ तर, मेहनत मात्रै खेर गयो,” उनले वैदेशिक रोजगारीमा बेहोरेको दुःख र अहिले गाउँमै व्यवसाय गरेपछिको सफलताको तुलना गर्दै भने – “मोती त हाम्रो स्वदेशी माटोमा रहेछ । दुःख त आखिर जहाँ गए पनि गर्नैपर्छ तर, विदेशको नारकीय जीवनभन्दा यहाँ आफ्नै ठाउँ स्वर्ग रहेछ ।’

सीमित लगानीबाट शुरु गरेको पल्छिरिङको व्यवसायमा अहिले ११ लाख रुपैयाँसम्मको लगानी थपिइसकिएको छ । कुखुराबाहेक अण्डा बिक्रीबाट मात्रै उनले एकदेखि डेढ लाख रुपैयाँ आम्दानी गर्छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ