arrow

पत्रकारलाई स्रोतबाट टाढा राख्ने अर्थ मन्त्रालयको रणनीति !

logo
प्रकाशित २०७५ पुष १ आइतबार
Ministry-Finance-hamrakura-1.jpg.jpeg

काठमाडौं । अर्थमन्त्रालयले मन्त्रालयका गतिविधिको सूचना दिने प्रणालीमा कडाई गर्ने तयारी गरेको छ । मन्त्रालयका कमजोरीबारे धेरै समाचारहरु बाहिर आउन थालेपछि मन्त्रालयले कर्मचारीलाई पत्रकारबाट टाढा गराउन व्यवस्थामा कडाई गर्न लागिएको अर्थमन्त्रालय स्रोतले जनाएकोे छ । 

अर्थको सूचना दिने प्रणालीमा परिवर्तन ल्याउन लागेको मन्त्रालयका नवनियुक्त प्रवक्ताले समेत स्वीकार गरेका छन् । आईतबार पत्रकारहरुसँगको कुराकानीमा मन्त्रालयका प्रवक्ता सुमन दाहालले सूचना दिने प्रणालीमा परिवर्तन गर्न लागिएको स्वीकार गरे । 'सबै कोठा कोठा चाहार्न पत्रकार साथीहरुलाई गाह्रो भयो' प्रवक्ता दाहालले भने 'त्यसैले हामीले एउटा सूचना केन्द्र स्थापना गरेर पत्रकारलाई कोठा कोठा चाहार्ने समस्या समाधान गर्न लागेका हौं।' अर्थमन्त्रालयमा प्रवक्ताको जिम्मेवारी सम्हालेर आएका दाहालले भनेको कुरा पत्रकारको हितमा लाग्ने खालको देखिए पनि यो व्यवस्था सुरु भयो भने आफ्नो स्रोतको विकास गरेर खोज पत्रकारिता गर्ने पत्रकारहरुलाई भने समस्या हुने विश्लेषण गरिएको छ । 

अर्थका एक अधिकारीले भने 'झट्ट सुन्दा यो राम्रो लाग्ला । तर, यसको उद्देश्य पत्रकारहरुलाई सुविधा दिने भन्दा पनि पत्रकारलाई स्रोतबाट टाढा गराउन यस्तो गरिएको हो ।' दाहालले अर्थमन्त्रालयको एउटा कोठालाई सूचना केन्द्रको रुपमा विकास गरेर पत्रकारहरुलाई सोही स्थानबाट सूचना प्रदान गर्ने व्यवस्था गर्न लागिएको बताउँदै उनले अप्रत्यक्ष रुपमा पत्रकारहरु अब अर्थमन्त्रालयका कर्मचारीहरुसँग प्रत्यक्ष भेट्नै नपाउने व्यवस्था गर्न लागेको संकेत गरे । 

अर्थ स्रोतका अनुसार मन्त्रालयको नराम्रा कामहरुको बारेमा धेरै समाचार आउन थालेपछि यो नियन्त्रण गर्ने प्रयास स्वरुप यस्तो गरिएको हो । यसको लागि अर्थमन्त्री युवराज खतिवडाले नै निर्देशन दिएको स्रोतको दाबी छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ